काठमाडौं । खानेपानी मन्त्री विना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई विदेश भ्रमण जानमा रोक लगाउनु भएको छ ।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीको अनावश्यक विदेश भ्रमणमा रोक लगाउनुभएको हो । उहाँले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाई अनावश्यक विदेश भ्रमण रोक्न निर्देशन दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा बोल्दै मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकोले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताउनुभयो । उहाँले कर्मचारीहरुलाई निर्देशन दिँदै भन्नुभयो, ‘अहिले काम गर्ने बेला हो । मिडियामा विदेश भ्रमणको सन्दर्भमा विभिन्न कुराहरु आएका छन् । यस्ता स साना कुराले हामीलाई अप्ठ्यारो पार्छ । अति आवश्यक भए मात्र भ्रमणमा जाने हो नत्र भ्रमणमा नजानुहोला ।’

उहाँले बैठकमा भन्नुभयो, ‘म आफैँ पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिनँ । तपाईंहरु पनि नजानु होला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन ।’

देशैभर ढल अनुगमन हुने खानेपानी मन्त्रालयले देशैभर ढल अनुगमन गर्ने भएको छ । मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री विना मगरले देशभर ढलको समस्या बढ्दै गएको भन्दै व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलको अनुगमन गर्ने बताउनुभयो । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीति गत व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदलसमेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।