बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन अवस्थामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको ८० प्रतिशत काम सम्पन्न भएको वीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्।

अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकका साथ क्यान्सरको मात्रै उपचार गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालको माघ दोस्रो सातासम्ममा उद्घाटन गर्ने उद्देश्यले उपकरण खरिद प्रक्रिया शुरु गरिएको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाबाट क्यान्सर अस्पतालले उपकरणका लागि आयत अनुमति पत्र लिइसकेको जनाइएको छ । विश्वस्तरीय उपकरणसहित क्यान्सरको उपचार शुरु गर्न लागिएको क्यान्सर रोग विशेषज्ञ डा। वीरेन्द्र यादवले बताएका छन् ।

उनले पेट सिटी स्क्यान, गामा क्यामेरा नेपालमै पहिलोपटक भित्रन लागेको समेत बताएका छन् । ५० करोड रुपैयाँको लागतमा यी दुई उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालले भित्र्याउन लागेको जनाएको छ । खरिद प्रक्रिया सकेर केही महिनामै उक्त उपकरणहरु नेपाल आइपुग्ने जनाइएको छ । दक्षिण एशियाकै सुविधासम्पन्न अस्पताल बनाउने उद्देश्यका साथ आफूहरु लागीपरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिएका छन् ।

नेपालमा बार्षिक ३० हजार क्यान्सरका नयाँ रोगी थपिने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । पूर्वमा क्यान्सरका रोगी बढेसँगै बिर्तामोडमा नै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले छुट्टै अस्पताल नै निर्माण गरेर सेवा दिन लागिएको वीएण्डसी टिचिङ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।