पथरी/उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सञ्चारमाध्यम बिरुद्ध खनिएका छन् । उनले आफु उर्लाबारी नगरपालिकाको प्रमुख रहेसम्म सञ्चारमाध्यमलाई कुनै पनि प्रकारको सहयोग नगर्ने उद्घोष सार्वजानीक कार्यक्रममा गरेका छन् ।
संबिधान दिवसको अवसरमा उर्लाबारी नगरपालिकाद्धारा बुधबार आयोजित कार्यक्रममा मेयर फागोले आफु र नगरपालिकाको बिरोधमा समाचार लेख्ने र प्रशारण गर्ने पत्रकारलाई असहयोग गर्ने घोषणा गरेको हो । संबिधान दिवसको शूभकामना आदानप्रदान कार्यक्रममा विषयवस्तुमा केन्द्रित रहेर भन्दा पनि अधिंकाश समय फागो पत्रकार र सञ्चार माध्यमप्रति आक्रमक भएका थिए ।
यसअघि पनि प्रमुख फागोले सार्वजनिक मञ्चहरुबाटै पत्रकारहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष धम्क्याउँदै आएका छन् । केही दिनअघि मात्र उर्लाबारी नगरपालिकाले नगरका ६ वटा खोला ठेक्काको विषयमा ठूलो चलखेल भएको समाचार बिभिन्न सञ्चारमाध्यममा आएको थियो ।
खोला ठेक्कामा भएको चलखेलबारे समाचार सार्वजनिक भएपछि नगर प्रमुख फागो पत्रकार बिरुद्ध खनिएका हुन् । खोला ठेक्काका लागि १९ वटा फारम वितरण भएकामा ४ वटा कम्पनीले मात्र दर्ता गर्न पाएका थिए । नगरपालिकाले नगरभित्र रहेका ६ वटा खोलाजन्य पदार्थ निकासीका लागि २ करोड ९१ लाखमा ठेक्का आह्वान गरेको थियो ।
के एन निर्माण तथा सप्लायर्स, जेएजे निर्माण सेवा प्रालि, जिएफ कंस्ट्रक्शन एण्ड इन्जिनेरीङ्ग, बेदकृष्ण सप्लायर्स र रेनता निर्माण सेवाका प्रतिनिधिहरुलाई फारम दर्ता गराउन रोकेको भन्दै उनीहरुले सोमबार पत्रकार सम्मेलन गरेका थिए ।
नियोजित रुपमा ठेकेदार भीम पौडेलसँग ‘सेटिङ’ मिलाएर अन्य फारम दर्ता हुनबाट रोकेको भन्दै जे.एन.जे. निर्माण सेवा दमकका राजकुमार थापाले टेण्डर प्रक्रिया खारेज गरी नयाँ टेण्डर खुलाउन माग गरेका छन् । आफूले ४ करोड ५१ लाख रुपैयाँको टेण्डर हाल्न जाँदा नगरपालिकाका नगर प्रहरीले मुख्य गेट नै बन्द गरेर दर्ता गर्न नदिईएको उनले बताए ।
सो खोलाको ठेक्का ए.टी. कंस्ट्रक्शन सप्लायर्सले ३ करोड ५६ लाख १० हजार ६५६ रुपैँयामा प्राप्त गरेको बुझिएको छ । साढे ४ करोड बढी रुपैयाँको टेण्डर हाल्ने कम्पनीलाई दर्ता गर्न नदिईनु र ३ करोड ५६ लाख रकममा ठेक्का दिईनुलाई ठुलो चलखेल भएको व्यवसायी ख्याम निरौलाले बताएका छन् ।










