काठमाडौं, ४ भदौ । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा अभ्यास लाइसेन्स प्राप्त गर्न नसकेकाहरूले ‘युवा चिकित्सक संघ’ गठन गर्ने तयारी गरेका छन् । विभिन्न देशबाट चिकित्सा शिक्षा अध्ययन गरेर आएका तर काउन्सिल परीक्षा पास गर्न नसकेका व्यक्तिहरूले ‘युवा चिकित्सक संघ’ गठन गर्ने तयारी गरेका हुन् ।

तर, उनीहरूको यो तयारीलाई स्वास्थ्य मन्त्रालयले अवरुद्ध गरिदिएको छ । मन्त्रालय अन्तर्गतको कानुन शाखाले नेपाल मेडिकल काउन्सिलको लाईसेन्स पास गरेकाहरू मात्रै संघमा आबद्ध हुन सक्ने भन्दै रोक लगाएको छ । स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएर संघ गठनको विधान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइपुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रालय स्रोतका अनुसार पटक पटक लाइसेन्स परीक्षामा फेल भएका बंगलादेश, चीन, बेलारुस लगायतका देशबाट चिकित्सा शास्त्र पढेका आएकाहरूको संलग्नतामा सो संघ गठन हुन लागेको हो । विदेशमा मेडिकल शिक्षा अध्ययन गरेका तर, लाइसेन्स नपाएका चिकित्सकहरूको संगठन बलियो बनाउन युवा चिकित्सक संघ गठन गर्ने तयारी देखिएको स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

यसकारण संघ गठनको तयारी

तर, संघ गठनको तयारीमा रहेका चिकित्सकहरूले भने, देश विदेशका चिकित्सकहरूको समस्या समाधान गर्न संघ गठन गर्न लागेको बताएका छन् । संघले सदस्यता बनाउने आवश्यक योग्यतामा मेडिकल काउन्सिलको लाइसेन्स नभएकाहरूलाई समेटेको छ । उनीहरूले तयार पारेको विधानमा भनिएको छ, ‘नेपाल सरकारद्वारा मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबिबिएस, बिडिएस वा सो भन्दामाथिको डिग्री अध्ययन गर्दै गरेका वा पुरा गरेका सम्पूर्ण चिकित्सक तथा विद्यार्थी संघको सदस्य बन्न योग्य हुनेछन् ।

संघका संयोजक राम थापा क्षेत्री छन् । उनीहरुले ४० वर्ष मुनिका चिकित्सकलाई समेट्ने उदेश्यले संघ गठन गर्न लागेको जनाएका छन् । काउन्सिलका अनुसार संयोजक क्षेत्रीले पनि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेका छैनन् ।

हाम्रो डाक्टर न्युज बाट