काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उनले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री थापाले भने, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उनलेनेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पारे ।

मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गरे।

सङ्गठनका प्रतिनिधिले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षदेखि भइरहेका आक्रमणकै शृङ्खलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए । मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा पनि उनीहरुले जोड दिए । अज्ञात समूहले अन्सारीलाई आज सुनसरीको भुताहामा गोली हानी हत्या गरेको छ ।