खानेपानी मन्त्री विना मगरले एकाविहानै काठमाडौंका विभिन्न निजी तथा सरकारी अस्पतालको निरीक्षण गरेकी छन् । उनले काठमाडौंमा रहेका वीर अस्पताल र ग्रान्डी अस्पतालको निरीक्षण गरेकी हुन् । अस्पतालको व्यवस्थापन असाध्यै कमजोर रहेको खबर पाए लगत्तै एकाविहानै उनले अस्पतालको निरीक्षण गरेकी हुन् ।
विशेष गरि मन्त्री मगरले अस्पतालको खानेपानी, फोहोर तथा ढल व्यवस्थापनको अनुगमन गरेकी हुन् । अनुगमन पश्चात मन्त्री मगरले अस्पातलमा केमिकलबाट निस्कीने फोहोर व्यवस्थापन हुन नकसकेको बताइन् ।
उनले भनिन्, ‘अस्पतालमा केही व्यवस्थापन राम्रो भएपनि केमिकलबाट निस्कीने फोहोरको असर चाहिँ व्यवस्थापन हुन सकेको छैन । यसको व्यवस्थापनका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’
अहिले मन्त्रालयले नीजि तथा सरकारी अस्पतालमा पानी तथा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता राखेको मन्त्री मगरले जानकारी दिइन् ।
उनले सबै अस्पतालमा खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको पनि बताइन् । मन्त्री मगर समक्ष अस्पताल प्रशासनले फोहोर व्यवस्थापन राम्रो भएपनि खानेपानी र ढल निकासको निकै समस्या भएको गुनासो राखेका थिए ।
वीर अस्पतालको निरीक्षण लगत्तै मन्त्री मगरले निजी लगानीबाट सञ्चालित ग्रान्डी अस्पतालको पनि निरीक्षण गरेकी छन् । उनले सो अस्पतालको फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गरेकी हुन् ।










