नेपाली टेलिभिजन क्षेत्रमा निडर पत्रकारका रुपमा पहिचान बनाएका चर्चित पत्रकार रवी लामिछानेले जापानवासी नेपालीहरुस‌ग आज शुक्रबार विशेष अन्तरक्रिया गर्दैछन् । जापान तथा कोरियाका विभिन्न स्थानहरुमा हुने अन्तक्रिया कार्यक्रमका लागि हिजो उनले नेपाली राहदानी सहितको सेल्फी फेसबुकमा राखेपछि त्यसले पनि निकै चर्चा पायो, केही महिना पहिलेनै उनले आफ्नो अमेरिकी नागरिकता त्याग गरि नेपाली पासपोर्ट लिने प्रकृयामा रहेको बताएका थिए ।

जापान आउने क्रममा बैंकक आइपुगेका उनले जापान र कोरियामा धेरै भन्दा धेरै नेपालीको समस्या सुन्न पाइयोस् र आयोजित कार्यक्रममा उपस्थित हुन नसक्नेहरुको सहजताका लागि सम्पर्क नम्बरहरु पनि दिएका छन् । उनी जापानमा रहुन्जेल 090-1760-5063 मा सम्पर्क गरि आफ्ना समस्या सुनाउन सकिनेछ भने कोरियामा रहँदा 010-7368-8410 मा सम्पर्क गरि आफ्ना समस्याहरु उनीलाई सुनाउन सकिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल पत्रकारमहासंघ जापान शाखाको आयोजनामा महासंघको तेश्रो वार्षिक साधारणसभा समापन अवसरमा टोकियोको नाकानो जिरो हलमा आज साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा सहभागि सर्वसाधारणहरुसंग पत्रकार लामिछानेले खुल्ला अन्तरक्रिया गर्नेछन। यो कार्यक्रममा टोकियो र आसपासका धेरै नेपालीहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको आयोजकले जानकारी दिएका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको सो कार्यक्रमका लागि विशेष सुरक्षा व्यवस्था समेत तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिए । अध्यक्ष घलेले करिव १४ सय सिट क्षमताको हलमा जापानवासी नेपालीहरुलाई खुल्ला छलफलमा सहभागिताका लागि आव्हान समेत गरेका छन् ।

टोकियोको कार्यक्रम लगत्तै योकोहामाको बेल्ले खान्नाई हलमा २२ सेप्टेम्बर विहान १० बजे अन्तक्रिया कार्यक्रम हुनेछ भने सिजुओकाको आइसेरु–२१ मा २२ तारिखनै दिनको २ बजे भेटघाट तथा अन्तक्रिया कार्यक्रम हुँदैछ । सोही दिन नागोयाको आबो हलमा साँझ ६ बजे कार्यक्रम हुँदैछ । ह्योगो केनको असिया सिटी सेन्टर हलमा २३ सेप्टेम्बर दिनको १२ बजे हुने अन्तक्रिया कार्यक्रमपश्चात सोही दिन साँझ ६ बजे फुकुओकाको सपोर्ट सेन्टर हलमा रवी लामिछानेसंग भेटघाट तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको रुपरेखा हेर्दा जापानमा रहँदा रवी लामिछाने निकै ब्यस्त रहने देखिन्छन् । फेसबुक लाइभमार्फतनै उनले सिधा कुरा जनतासंग कार्यक्रमका केही भागहरु जापान र कोरियाबाट लाइभ प्रसारण हुने पनि बताएका छन् । उनले धेरै भन्दा धेरै जनाको समस्या सुन्न पाइयोस् भनेर सम्पर्क नम्बर उपलव्ध गराएको पनि बताएका छन् । जापान र कोरियाबाट फर्कर्ने क्रममा हंगकंगबाट पनि कार्यक्रम लाइभ प्रसारण गर्ने तयारी गरिरहेको जानकारी दिए ।

इजिलिंक रेमिटको विशेष पहलमा जापान आउन लागेका रवि लामिछानेसंगको भेटघाट तथा अन्तक्रिया कार्यक्रम टोकियोमा नेपाल पत्रकार महासंघले आयोजना गरेको छ भने अन्य स्थानहरुमा स्थानीय समाज तथा संस्थाहरुले आयोजना गरेका छन् । सबै कार्यक्रमहरुमा प्रवेश निशुल्क गरिएको पनि बताइएको छ ।