अभियोग - पद र शक्ति प्राप्त गर्न फर्जी कामसमेत गर्नुहुन्छ । तत्कालीन आइजिपी नियुक्ति प्रकरणमा कार्य सम्पादन मूल्यांकनको नक्कली कागजपत्र पेस गरेर सर्वोच्च अदालतलाई समेत गुमराहमा राख्नुभयो ।

आरोप विभिन्न ढंगले लगाइए । पावरमा बस्ने मान्छेले, पावरफुल मिडियामा पहुँच हुने मान्छेहरूले प्रचार–प्रसार त्यसरी गरे । तर, मचाहिँ बाहिर सडकमा बसेर सत्ताको विरुद्धमा लडिरहेको मान्छे । चैत २८ गते आइजिपीको निर्णय भयो, चैत २७ गते नै विभिन्न मिडियाहरूमा मूल्यांकन फाराम दुई खालका आए । कति मान्छेहरूले प्रिन्ट पनि गरे । म जुन वकिलमार्फत लडिरहेको थिएँ, त्यहाँ पनि साथीहरूले मूल्यांकन दुई किसिमको देखियो भनेर देखाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हामीले भोलिपल्ट १ बजे मात्रै अदालतमा मुद्दा दिएका हौँ । मैले मुद्दा दिनुभन्दा २४ घन्टाअगाडि नै आइसकेको कुरालाई हामीले रिफ्रेन्सको रूपमा यसरी दुई थरी आयो भनेर प्रस्तुत गरेका हौँ । पहिला अदालतले जेष्ठताका हिसाबमा, कार्यमूल्यांकनको हिसाबमा, अनुभवको हिसाबमा, योग्यतालगायत हरेक हिसाबमा नवराज सिलवाल नम्बर एक हो भनेर भनिसकेको हुनाले त्यो एक नम्बरवाला नै हाम्रो हो भनेका हौँ । त्यसमा पनि हामीले ‘योचाहिँ हामीले प्राप्त गरेका हौँ, यसमा चाहिँ हाम्रो दाबी हो’ भनेर वकिल साथीहरूले दिएका हुन् ।

मैले नक्कली कसरी बनाउन सक्छु र ? यदि त्यस्तो हो भने उहाँहरूले सबैभन्दा पहिला गोप्य भनेर चाबी लगाएर राखिएको त्यो डकुमेन्ट हरायो भनेर स्थापित गर्नुपर्‍यो । अनि त्यो नवराज सिलवालले चोरेको हो भनेर स्थापित गर्नुपर्‍यो । चोरी भएको वा हराएपछि कहीँ कसैले प्राप्त गर्‍यो होला भन्ने हुन्छ । हरायो पनि भनेका छैनन्, चोरी भयो पनि भनेका छैनन् । या त्यो सबै हेर्ने जिम्मा मेरो भइदिएको भए पनि यसले बदमासी गर्‍या हो भन्ने हुन्थ्यो । यी तीनवटै अवस्था नभएको र पदभन्दा बाहिर एक्लै राज्यको विरुद्धमा सडकबाट लडिरहेको मान्छेले कहाँबाट चाहिँ कपी पाउँछ र नक्कल गर्नु ?