काठमाण्डु, ६ – वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् ।
छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै तीन वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मुलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, नेपाल सरकारबाट न्याय पाउने आशा मरिसक्यो अब अन्तर्राष्ट्रिय अदालत जान्छु’ । द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरे पनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गराइन् ।
गंगामायाले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधीलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने विश्वास रहेको बताइन् ।










