काठमाडाैं । संघीय संसदका दुई संयुक्त समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएको आज औपचारिक घोषणा गरिदैँछ । हिजै निर्विरोध भए पनि सभापति भएको औपचारिक घोषणा सम्बन्धित समितिले आज गर्नेछन् । सभापतिका लागि हिजो भएको मनोनयनमा दुबै समितिमा एकल मनोनयन दर्ता भएको हो ।
संघीय संसद् सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले दुवै समितिमा एक–एक जनाको मनोनयन भएको जानकारी दिनुभयो । दलीय सहमति अनुसार दुबै समितिमा एक–एक उम्मेदवारी परेको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने दुवै समितिमा सभापतिका लागि उम्मेदवारी दिएको थिएन ।
सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिमा राजपा संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका लक्ष्मणलाल कर्णको मात्र मनोनयन परेको छ । कर्णको प्रस्तावकमा अमृता थापा र समर्थकमा निरुदेवी पाल, योगेश भट्टराई र शिवकुमार मण्डल हुनुहुन्छ । यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा सांसद् निरुदेवी जैरुको मात्रै मनोनयन दर्ता भएको छ । जैरुको प्रस्तावकमा गणेशसिंह ठगुन्ना र समर्थकमा प्रभु साह रहनुभएको सचिवालयले जनाएको छ ।
नियमावलीको प्रावधान अनुसार आज सम्बन्धित समितिमा सभापति चयनको औपचारिक निर्णय हुनेछ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव पेस गरेपछि समर्थकले समर्थन गर्नेछन् । प्रस्तावक र समर्थकको धारणापछि ज्येष्ठ सदस्यले औपचारिक रुपमा निर्विरोध भएको घोषणा गर्नुहुनेछ । प्रतिनिधिसभा सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि निर्वा्चित सभापतिहरुले पदभार सम्हाल्नुहुनेछ ।










