काँकरभिट्टा । मेची नेत्रालयमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आँखा उपचार गरिएको छ । आँखाको उपचारका लागि शुक्रवार विहान धर्मगुरु लिङ्देन आफ्ना अनुयायीहरुसहित मेची नेत्रालय आएका थिए । गुरुआमा सहित इलामको लारुम्बाबाट दमक हुँदै धर्मगुरु लिङ्देन काँकरभिट्टा आएर उपचारपछि फर्किएको पत्रकार दिपीन राईले जानकारी दिए ।
नेत्रालयका मेडिकल डाइरेक्टर एवम् रेटिनाविज्ञ डा. शरदचन्द्र प्रकाश राईले धर्मगुरुको आँखाको विशेष जाँच गरेका थिए । मधुमेहको नियमित औषधि सेवन गरिरहेका धर्मगुरु लिङ्देन यस अघि आँखाको उपचारका लागि काठमाडौँको ग्रान्डी हस्पिटल र तिलगङ्गा आँखा हस्पिटल जाने गरेको उनको स्वास्थ्य परामर्शदाता खगेन्द्र लिङ्देनले बताए ।
‘धर्मगुरु पहिलोपल्ट मेची नेत्रालयमा आँखा जाँच्न आउनु भएको हो’, स्वास्थ्य परामर्शदाता लिङ्देनले भने–‘डा. राईले हाइप्रेसर एवम् डाइविटीज घटाउन र तीन तीन महिनामा नियमित आँखा जँचाउन सल्लाह दिनु भएको छ ।’ स्रोतका अनुसार आँखाको दृष्टि धमिलो हुँदै गएपछि धर्मगुरु लिङ्देन जाँचका लागि आएका हुन् । डा. राईले हाल आँखाको कुनै शल्यक्रिया गर्न नपर्ने सल्लाह दिएको बताइएको छ ।
नेत्रालयमा आउँदा धर्मगुरुलाई मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्रप्रकाश राई, प्रशासकीय प्रमुख पुनम प्रधान, व्यवस्थापक नवराज प्रधान लगायतले स्वागत गरेका थिए । उपचारप्रति सन्तोष व्यक्त गर्दैै धर्मगुरु लिङ्देनले नेत्रालय परिवारलाई धन्यवाद दिएका थिए । लोकतन्त्र पोस्ट










