काठमाडौं । दशैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासन गर्ने भएको छ । असोज २१ गतेदेखि सर्वसाधारणलाई नोट साट्न खुला गरिने व्यवस्थामा एक व्यक्तिले अधिकतम २७ हजार रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले बजारमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट ल्याउने भएको हो । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबरको नोट साट्न पाइने व्यवस्था मिलाइएको मुद्रा व्यवस्थापन विभाग प्रमुख एवम् कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नोट सटही स्थल

यसका साथै सर्वसाधारण नागरिकले सहज रुपमा नयाँ नोट सटही गर्न सकून् भन्ने उद्देश्यले राष्ट्र बैंकको अलावा अन्य तीन बैंकका शाखाबाट पनि नोट साट्ने व्यवस्था मिलाइएको छ । यसले विगतमा जस्तो भिडभाड र सकस नहुने राष्ट्र बैंकको बताएको छ ।

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट नयाँ नोट साट्न सकिने छ भने, कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगल बजार शाखाबाट नयाँ नोट साट्न सकिनेछ । यसवर्ष उपत्यका बाहिरका क्षेत्रमा पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।