गोरखा फुजेलका नुरप्रसाद अधिकारीले पाटन उच्च अदालतका इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण र इजलास तोडफोड गरेका छन्।

आइतबार अपरान्ह उनले इजलासमा वितन्डा मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेर लगेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'उनी वारेस भएको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएपछि त्यसको झोकमा उनी इजलास तोडफोडमा उत्रिए,' उनले भने, 'इजलास अधिकृतलाई काठको कुर्ची उठाएर उनले हानेका थिए तर उहाँ बच्नु भयो।'

विनु घतानी सुनारको घरजग्गा खिचोला, दुषित करार बदरलगायत केही मुद्दामा उनी वारेस भएर अदालत आउने गरेको दाहालले बताए।

काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुग्ने भन्दै खारेज गर्ने फैसला गरेको थियो। त्यही फैसलाविरूद्ध विनु उच्च अदालत आएकी थिइन्।

उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखर प्रसाद पौडेलको इजलासले जिल्ला कै फैसला सदर गरेपछि नुरप्रसादले सुरूमा कम्युटर फुटाइदिएका थिए। इजलासका कम्प्युटर, किताब राख्ने दराज, कुर्ची लगायतका सामान उनले फुटाइदिएका छन्। उनीमाथि अदालतको अवहेलना मुद्दा लगाउने तयारी भएको रजिष्ट्रार दाहालले बताए।