मेचीनगर। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दल मेचीनगरले धुलाबारी उत्तर तर्फको प्लटिङ गरिएको जमिनमा होटल बन्ने प्रक्रियालाई तत्काल रोक्ने जनाएको छ ।

नेकपा संसदीय दलले आईतबार पत्रकार सम्मेलन गरी पछिल्ला दिनमा धुलाबारीको प्लटिङको जग्गामा बन्न लागेको होटलका बिषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नगरपालिकाको मापदण्ड बिपरित खुला स्थान छोड्नु पर्ने जग्गामा नै होटल बनाउने प्रस्तावमको प्रक्रिया आगामी कार्यपालिकाको बैठकबाट अगाडी नबढाउने बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा मेचीनगरको संसदीय दलका नेता तथा नगर उपप्रमुख मिना उप्रेतीले महत्वपूर्ण बिषयमा नगर प्रमुखले आफुलाई थाहै नदिई प्रक्रिया अगाडी बढाएकाले समस्या भएको पत्रकार सम्मेलनमा बताउनु भयो ।

धुलाबारीको जग्गाका बिषयमा उठेको सबै बिषय नगरपालिकाको कार्यपालिका बैठकबाट टुङ्गो लगाउने र छानबिन प्रक्रिया अगाडी बढाई प्राप्त यथार्थ बिवरणका अधारमा कानूनी उपचारको बिधि अवलम्बन गरिने समेत पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्ती मार्फत प्रतिबद्धता जनाईएको छ ।

पत्रकार सम्मेलनमा नगर कार्यपालिका सदस्य टिकाराम मगरातीले धुलाबारीको जग्गा प्रकरण रहस्यमय भएकाले यसको खोजी गरिने र दोषी माथी कानूनी प्रक्रिया अवलम्बन गरिने बताउनु भयो ।

त्यस्तै अर्का कार्य पालिका सदस्य कृष्ण कनालले जग्गा धनीले शुरुमा नगरपालिकामा प्लटिङ नक्सा पासका लागि पेश गर्दा मापदण्ड नमिलेकाले फिर्ता गरिएको र पछि मापदण्ड अनुसार नक्सा संशोधन गरि आए पछि स्वीकृत गरिएको भए पनि त्यस पछिको प्रक्रियाका बारेमा कार्यपालिकामा छलफल नभएकाले समस्या आएको बताउनु भयो ।

नेकपा मेचीनगर संसदीय दलका नेता तथा उपप्रमुख उप्रेती र उपनेता तथा कार्यपालिका सदस्य टिकाराम सार्कीले संयुक्त हस्ताक्षर गरेको बिज्ञप्तीमा अगाडी भनिएको छ–“स्थानीय तहको निर्णयलाई नजर अन्दाज गरी मालपोत कार्यालयबाट अंशबण्डा पास भएको जानकारी प्राप्त भएको भनी नगरप्रमुखले कार्यपालिकामा कुनै छलफल वा निर्णय नगराई होटलको भवनको नक्सा स्वीकृति प्रक्रिया अगाडी बढाईएको बिषय जानकारी भएको प्रति मेचीनगर नगरपालिका नेकपा संसदीय दल आचर्य प्रकट गर्दछ ।”

मेचीनगर वडा नं. १० धुलाबारी चोक उत्तर तर्फको प्लटिङ गरिएको जग्गामा खुला स्थान भनेर छोडिएको जग्गामा अंशबण्डा पास गरि होटल बनाउन जग्गा धनीले नगरपालिकाबाट नक्सा स्वीकृतिको प्रक्रिया अगाडी बढाए पछि यो बिषय बिवादित बनेको छ । यसमा नगरका राजनितिक दलहरु समेत ध्रुवीकरण भएका छन भने जनप्रनिधिहरु समेत एक आपसका बिरुद्ध खनिएका छन । यसै बिषयमा नेकपा मेचीनगरले नगरपालिकामा ज्ञापन पत्र बुझाईसकेको छ भने नगरप्रमुख बिमल आचार्यले समेत पत्रकार सम्मेलन नै गरेर यस बिषयमा भए गरेका काम कारवाहीको जानकारी सार्वजनिक गरिसक्नु भएको छ ।