दाङमा स्कुल बस दुर्घटना हुँदा चालकसहित २४ जना विद्यार्थी घाइते भएका छन्।

तुलसीपुरस्थित गोरखा माविको रा १ क १९९ नं.को विद्यार्थी बोकेर पूर्व विजौरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को मोतिपुरस्थित खोला नजिकै दुर्घटना भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार उक्त दुर्घटनामा परी चालक टिकाराम डाँगीसहित ३ विद्यार्थी गम्भीर घाइते भएका छन्।

चालक डाँगी र अर्का एक जना टाउकोमा चोट लागेका विद्यार्थीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्राथमिक उपचारपछि थप उपचारको लागि बाँकेतर्फ ‘रेफर’ गरिएको सापकोटाले जानकारी दिए।

त्यस्तै, थप दुई जना विद्यार्थीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ‘रेफर’ गरिएको डिएसपी सापकोटाले जानाकारी दिए।

तर, विद्यालयका प्रिन्सिपल डम्बरबहादुर डाँगीले भने तुलसीपुरको उपचारपछि सात जना विद्यार्थी र चालकलाई बाँके तथा दुई जनालाई घोराही ‘रेफर’ गरिएको जानकारी दिए ।

‘गम्भीर नभए पनि टाउकोमा चोट लागेका घाइते विद्यार्थीलाई सिटी स्क्यानको लागि बाँके लैजाने अभिभावकको सल्लाह अनुसार ‘रेफर’ गरिएको हो। उनीहरू बोलिरहेका छन्। त्यति गम्भीर छैनन्,’ प्रिन्सिपल डाँगीले भने।

केही वर्ष पहिले बाढीले बगाएको सडक खण्ड समयमै मर्मत नगर्दा त्यही ठाउँमा बस दुर्घटना भएको छ । त्यहाँ साँघुरो र कच्ची सडक भएको हुँदा अनियन्त्रित भएर गाडी दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।