दमक\ झापाको दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापनका लागि काम शुरु भएको छ ।
दमक यातायात व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले यात्रु सहायता कक्षा सञ्चालन गर्ने, सडक डिभिजन कार्यालय मार्फत मावा खोलादेखि रतुवा खोला सम्म (पूर्व पश्चीम लोकमार्गमा) भएका खाल्डाखुल्डी पुरेर तत्काल मर्मत गर्ने निर्णय गरेको जनाईएको छ ।
दमक बसपार्कलाई रुटसहितको स्टैण्ड कायम गर्ने साथै साना सवारीलाई समेत पार्किङ गराउने लगायतका महत्वपूर्ण निर्णय गरिएको समितिका सदस्य सचिब शंकर बस्नेतले बताए ।
इलाका प्रशासन कार्यालय दमकमा बसेको सो समितिको बैठकले दमक बजार क्षेत्रमा हाल एकतर्फी पार्किङको व्यवस्थापन गर्ने, मुख्य सडकमा रहेका अवरोध हटाउने, सडकको आवागमनलाई सहज बनाउन ठाउँ ठाउँमा सुचक बोर्ड राख्ने पनि निर्णय गरेको छ ।
दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष समेत रहेका प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै दमकमा यातायात व्यवस्थापन समिति गठन भएको हो ।
समितिमा इलाका ट्राफिक प्रहरी कार्यालय दमक, दमक उद्योग वाणिज्य संघ यातायात व्यवसायी, तथा यातायात मजदुर संघ संगठनका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित वडाका वडा समिति प्रतिनिधिहरु, सडक डिभिजन कार्यालय लगायत रहेकाछन् ।
अध्यक्ष सापकोटाले दमकमा यातायात ब्यवस्थापनलाइ ब्यवस्थित गर्न प्रयास शुरु भइसकेको बताउदै सबैलाइ सहयोगका लागि अनुरोध गरेकाछन् ।










