लमजुङ । सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि लमजुङका ६१ दशमलब ५४ प्रतिशत दम्पत्तिले अस्थाई साधन प्रयोग गर्दैनन् ।
जिल्लामा रहेका ३९ हजार दम्पतीमध्ये साढे ३८ प्रतिशत मात्र अस्थायी साधन प्रयोग गर्ने गरेको स्वस्थ्य कार्यालय, लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार ३९ हजार दम्पत्तिहरूमध्ये १५ हजार १५ ले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेका छन् । त्यस्तै ६१ दशमलव ५४ प्रतिशत अर्थात् २३ हजार ९८५ दम्पत्तिले अस्थायी साधन प्रयोग नै गर्दैनन् ।
अस्थाई साधन परिवार नियोजनको लागि मात्रै नभई मुख्यतः मानव स्वास्थ्यको हितका लागि भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । तर स्वास्थ्यको दृष्टिकोणले लमजुङमा अस्थायी साधन न्यून मात्रमा प्रयोग हुने गरेको छ ।
तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको माताहतमा रहेका ७५ स्वास्थ्य संस्थाहरूबाट परिवार नियोजनको अस्थाई साधनहरू वितरण हुने गरेको छ ।
विषेशगरी अस्थाई साधनहरूमा पुरुषले प्रयोग गर्ने कण्डम, महिला तथा पुरुषको स्थायी बन्ध्याकरण, महिलाले प्रयोग गर्ने पिल्स, तीन महिने डिपो, इम्प्लान्ट र आईयूसीडी रहेका छन् ।
सरकारले निःशुल्क ५ प्रकारको अस्थाई साधन उपलब्ध गराएको छ । यी अस्थायी साधनहरूमध्ये दम्पतीले मात्र होईन अविवाहितहरूले समेत कण्डम र पिल्स बढी प्रयोग गर्ने गरेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।










