लहान– लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले नागरिकसँग फोनमा भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागिसकेको छैन्।’ हेटौडामा काम गर्दै आएका डा. यादव आन्तरिक कारणले एक महिनादेखि लहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए। ‘आन्तरिक कारण अहिले नखुलाउ’, उनले थपे, ‘डा. यादवको अपहरणको त्यही कारणले भएको हुनसक्ने आशंका सहित खोजी गरिरहेका छौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपहरणस्थल लहानको चल्तीको चोक हो। यहाँ अबेर रातीसम्म मानिसको चहलपहल रहन्छ। ईलाका प्रहरी कार्यालयबाट मुस्किलले पाँच सय मिटर पश्चिम दूरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि उतिकै दूरीमा पर्छ अपहरणस्थल। घटनाबारे विस्तृत जानकारी खुल्न सकेको छैन्। नागरिक दैनिक बाट