काठमाडौं, १० असोज । चीनबाट फर्केलगत्तै एक सार्वजनिक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरे । उनले नेपाली भएकै कारण नोबेल शान्ति पुरस्कारका लागि उपयुक्त हुन नसकेको भन्दै निकै गुनासो पोखे । नेपालमा शान्ति स्थापना हुनुमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफ्नो ठूलो योगदान रहेको भन्दै दुवैजना नोबेल शान्ति पुरस्कारको हकदार रहेको जिकिर गरे । निकै समयदेखि प्रचण्ड आफू नोबेल शान्ति पुरस्कारको दाबेदार रहेको बताउँदै आएका थिए ।

खासगरी विदेशसँगको भेटमा प्रचण्डले आफूले ठूलो जोखिम मोलेर नेपालमा शान्ति स्थापना गरेको, माओवादी सशस्त्र द्वन्द्व समाप्त पारेको, तत्कालीन माओवादीलाई मूलधारको पार्टीमा रूपान्तरण गरेको जानकारी दिँदै आएका छन् । पछिल्लो समय प्रचण्डले दिने गरेको अभिव्यक्ति र उनको कार्यशैली ‘नोबेल शान्ति पुरस्कार’ का लागि मात्र रहेको पुष्टि हुँदै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुनै समय निर्वाचनमार्फत मुलुकको सबैभन्दा ठूलो नेकपा माओवादीलाई प्रचण्डले एमालेमा विलय गराएका छन् । आफूले २५ वर्षभन्दा बढी राजनीति गरेको पार्टीको प्रचण्डले नामोनिशान राखेका छैनन् । सो पार्टीमा रहेर राजनीति गर्ने धेरै नेता लाखापाखा लागिसकेका छन् । हाल मुलुकमा कुनै द्वन्द्व नरहेको र कुनै पनि क्रान्तिको आवश्यकता नरहेको उनको निष्कर्ष छ ।

माओवादीलाई एमालेमा विलय गराउने बेला धेरैले प्रचण्डले किन यस्तो जोखिम मोलेको होला, अब यिनको राजनीति सकियो भनेर टीकाटिप्पणी र विश्लेषण हुने गरेको थियो । अझै पनि मुलुकमा १७ हजार नागरिकको ज्यान लिने द्वन्द्वको ‘नाइके’ भनेर उनको आलोचना हुने गरेको छ । मानवअधिकार उल्लंघनमा उनलाई अन्तर्राष्ट्रिय अदालत (हेग) मा उभ्याउनुपर्ने भन्दै विरोध भइरहेको छ । तर, दुई तिहाइ शक्तिशाली कम्युनिस्ट सरकार भएका बेला उनले ‘नोबेल शान्ति पुरस्कार’ का लागि नेपालबाट सिफारिस गर्न हल्ला चलाएका छन् । जुन अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइएको छ ।

नेपालमा प्रचण्डलाई ‘नोबेल शान्ति पुरस्कार’ का सिफारिस गर्नुपर्ने भन्दै अभियान चलाइएका बेला भारतमा पनि सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नोबेल शान्ति पुरस्कार’ पाउनुपर्ने माग राखेका छन् । केही दिनअघि मात्र बीजेपीका एक केन्द्रीय नेताले मोदीलाई ‘नोबेल शान्ति पुरस्कार’ पाउन अभियान चलाउनुपर्ने बताएका थिए ।