मोरङ । प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउने गृहकार्य थालेको छ ।
प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुई तिहाइ बढी मत रहेको नेकपा भित्रै एकमत नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ । असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुङ्गो लगाउने तयारी नेकपाले गरेको हो ।
नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी बारे पनि छलफल हुने जानकारी दिँदै नामलाइ थाती राखेर राजधानी तोकिने सम्भावना रहेको बताउनुभयो । कम्तीमा प्रदेशसभाको यही अधिवेसनबाट राजधानी तोक्ने तयारी गरिएको नेकपाले जनाएको छ ।
नेकपा संसदीय दलले प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाइ नै स्थायी राजधानी तोक्ने श्रोतले जनाएको छ । त्यसका लागि पार्टीको शिर्ष तह र प्रदेश सरकारमा सहमति जुटिसकेकाले त्यसलाइ अनुमोदनका लागि संसदीय दलको बैठक बोलाइएको हो । नेकपाको संसदीय दलको बैठककै कारण प्रदेशसभाको बैठकपनि दुई दिन स्थगित हुने भएको छ ।
प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचार िछलफल नथालेको भन्दै आलोचना भइरहेको बेला नेकपाले राजधानीको टुङ्गो लगाउन संसदिय दलको बैठक बोलाएको हो । दुइ तिहाइ बहुमत रहेको कारण नेकपाको संसदीय दलले निर्ण गरेपछि स्वतः सो विषय संसदबाट पारित हुने छ ।
प्रदेशसरकारले संसदको चालु अधिवेशनबाटै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको भएपनि प्रदेशको नामांकरण भने चालु अधिवेशनबाट नहुने निश्चित देखिएको छ । नाम बारेको विवाद कायम नै रहेको र पार्टीको शिर्ष नेतृत्व तहमा पनि त्यसबारे एक मत बनिनसकेको भन्दै तत्काल राजधानीको विषय मात्रै टुङ्गो लगाउन लागिएको नेकपा श्रोतले जनाएको छ । प्रदेश सभामा रहेका नेकपाका जनजाती र पूर्व माओवादी सांसदहरु प्रदेशको नाममा पहिचान जोड्नुपर्ने मत राख्दै आएका छन् ।
मुख्यमन्त्री शेरधन राई आर्थिक मामिला मन्त्री ईन्द्रबहादुर आङ्वो सहितका सांसदहरुले किराँत कोशीको वकालत गरेपनि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की सहित नेकपाकै अन्य सांसदहरु भने प्रदेशको नाम कोशी वा सगरमाथा राख्नुपर्ने पक्षमा रहेकोले सहमति जुट्न सकेको छैन । जनता समाचार बाट साभार










