पोखराको लेखनाथमा एक व्यक्तिले आफ्नी कान्छी श्रीमतीको हत्या गरेका छन् । उनकी जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।
गुरुङलाई प्रहरीले बिहीबार विहान गगनगौंडाबाट पक्राउ गरेको छ । गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् ।
त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको थियो । ढुंगाले हानेपछि म¥यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ ।
श्रीमतीको हत्या गरेर गुरुङ फरार भएको सूचना पाएलगत्तै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङसहित विशेषज्ञ र कुकुरसहितको टोली खोजीमा खटिएको थियो । हत्या गरेर फरार रहेको खबर आएको दुई घण्टा भित्रै आफूहरुले गुरुङलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गुरुङले बताए ।
ऐनबहादुर घर बनाउने मिस्त्रीको काम गर्दथे । डैनिक नेपाल बाट










