काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का दुबै अध्यक्ष मुलुकबाहिर छन् ।
नेकपामा यसअघि अध्यक्ष देश बाहिर जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्ने गरिएको थियो । तर, यसपटक यो परम्परा तोडिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वत अध्यक्षको जिम्मेवारी पाएका थिए ।
तर, अध्यक्ष प्रचण्ड पनि धर्मपत्नी सीता दाहालको उपचार गर्न बुधबार बेलुका सिङ्गापुर गएका छन् ।
ओली र प्रचण्ड दुबै अध्यक्ष देश बाहिर भएको बेलामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले पाएको छ भन्ने नेकपाका धेरैजसो नेताहरुलाई समेत थाहा छैन ।
यसअघि दुबै अध्यक्ष बाहिर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर, यसपटक नेता नेपाललाई कार्यबाहक नदिएको नेकपा उच्च स्रोतले बताएको छ ।
महासचिव विष्णु पौडेलले कार्यवाहकका विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
यस्तै माधबकुमार नेपालको सचिवालयले पनि नेता नेपाललाई कार्यवाहक दिएको कुनै जानकारी नभएको बताएको छ ।
‘कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी आएको छैन’ वरिष्ठ नेता नेपाल निकट श्रोतले भन्यो, ‘यसअघि अध्यक्ष ओली चीन र अर्का अध्यक्ष प्रचण्ड सिङगापुर जाँदा ओलीले नेता नेपाललाई कार्यवाहक जिम्मेवारी दिनुभएको नजिर छ तर, यसपटक कसलाई दिइयो थाहा छैन ।’
यद्यपी, नेकपा केन्द्रीय कार्यलयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाललाई नै कार्याबहाक दिएको दाबी गरेका छन् ।
‘अध्यक्ष प्रचण्डले मौखिक रुपमा नेता नेपाललाई जिम्मेवारी दिनुभएको छ’ सचिव श्रेष्ठले रातोपाटीलाई बताए ।
केही दिनअघि गरिएको सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा आफ्नो पक्षलाई वेवास्ता गरेको भन्दै वरिष्ठ नेता नेपाल लगायतले चर्को असन्तुष्टि जनाउदै आएका छन् । रातो पाटी बाट










