काठमाडौं–नेकपाका नेता माधव कुमार नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरहदाँ गृहप्रशासन गम्भीर नभएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपाका नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौति भइरहेको भन्दै गृहप्रशासनको चर्को आलोचना गरेका हुन् ।
‘हाम्रा मन्त्री ज्यूले देख्नु भएको छ कि छैन ?’ नेता नेपालले प्रश्न गरे ‘गृहमन्त्री ज्यू कहाँ हुनुहुन्छ थाहा छैन ? उहाँहरुलाई जानकरी हुन्छ कि हुँदैन थाहा छैन । गृहप्रशासन नामको चिज छ कि छैन थाहा छैन ।’
खुलेआम देशलाई टुक्राउने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही नगरेको भन्दै नेता नेपालले देश टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही गर्न बनेका निकायका व्यक्ति कहाँ छन् भन्दै प्रश्न गरे । उनले भने,‘ नेपालका विभिन्न निकाय छन् त्यो निकायमा रहने व्यक्तिहरु कस्ता होलान् ? जो राष्ट्रद्रोहीलाई पनि त्यतिकै छोडिदिन्छन् ।
तिनिहरुमा देशभक्ति र नेपालीको भावना छैन । त्यसले नेपाली भएर गौरव गर्ने कुनै काम छैन ।’
उनले नेकपाको सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै त्यसलाई पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । लोकान्तर बाट साभार










