काठमाडौं– हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको तयारी चरणमा पुगको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र परिचयपत्र वितरण शुरु गर्ने तयारी गरेको छ ।
बिहीवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले परिचयपत्र छपाइ केन्द्रको अवलोकन गर्नुका साथै आफ्नो परिचयपत्र छाप्नका लागि तस्विर खिच्ने, अाैंठा छाप दिने लगायतका कार्य गरे । पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिनेछ । त्यसलगत्तै यो आर्थिक वर्षभित्र १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य लिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले राष्ट्रिय परिचय पत्र छपाईका लागि आधुनिक मेसिनको व्यवस्था गरेको छ । यो मेसिनले २४ घण्टामा १० हजार प्रति परिचयपत्र छाप्नसक्ने जनाइएको छ ।
राष्ट्रिय परिचयपत्र वितरण भइसकेपछि नागरिकले अन्य प्रयोजनका लागि पनि छुट्टा–छुट्टै कार्ड बोकि राख्नुपर्ने छैन ।
राष्ट्रिय परिचयपत्रभित्र नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण हुने छ ।
एटिएमबाट पैंसा निकाल्न खोजे जुनसुकै बैंकको एटिएममा राष्ट्रिय परिचय पत्रबाट पैसा निकाल्न सकिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भनाइ छ । केन्द्रले आधुनिक प्रविधिको प्रयोगबाट सबै प्रकारण व्यक्तिगत विवरण एउटै कार्डमा राखिने जनाएको छ ।










