काठमाडौं –‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि केही किनारा लगाइदेऊ,’ भन्दै प्रतिनिधि सभा बैठकमा बिहीवार सम्बोधन गरेका नेकपा नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन् ।

कञ्चनपुर, रौतहटलगातका स्थानमा अमानवीय घटना घटेको भएपनि अपराधी पत्ता लगाउन गृह प्रशासन चुकेको नेता नेपालको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता नेपालले सरकारको काम हेर्न जनता ब्याकुल रहेको बताए । परिणाम नदेखिएका कारण सांसदहरूको शिर ठाडो हुन नसकेको उनको भनाइ छ ।

‘भ्रष्टाचार व्याप्त छ, रोक्ने/नियन्त्रण गर्ने कुनै अंग छ कि छैन ?’ प्रश्न गर्दै नेता नेपालले भने,‘ कोही अहिलेसम्म गिरफ्तार भएको छ कि छैन, मुद्दा चलिरहेको छ कि छैन ? मान्छे काम हेर्न चाहन्छन्, परिणाम दिएपछि हाम्रो पनि शिर ठाडो हुने थियो ।’

नेता नेपालले सरकारले सही ढंगले काम गरे 'जुन जोगी आएपनि कानै चिरेको' भन्ने भनाइ सुन्नु नपर्ने थियो, भने । यो स्थितिलाई परिवर्तन गर्न उनले सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

देशमा भ्रष्टाचार व्यक्त रहेको र धेरै भ्रष्टहरू नै माथिल्लो पदमा पुग्ने गरेको भन्दै नेता नेपालले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । ‘विभिन्न फैसलामा भ्रष्टलाई जिताउनेहरू नै माथिमाथि उक्लने जुन सिलसिला छ, यो कहिले बन्द हुन्छ ?’ नेता नेपालले प्रश्न गरे, ‘हिजो भ्रष्टाचार गरेर शाखा अधिकृत उपसचिव हुँदै सचिव हुने जुन सिलसिला छ यो कहिले बन्द हुने ?’

दुनियाँले औला ठड्याइरहेको र भ्रष्टचारी भनेको व्यक्ति पुरस्कृत हुँदा आफ्नो शिर निहुरिएको भन्दै नेता नेपालले यसलाई रोक्नुपर्ने बताए ।

सरकारले राम्रो काम नगर्दा सांसदहरूले दुःख पाएको भन्दै नेता नेपालले जनताले के भन्छन् भन्ने जवाफ दिनका लागि नभई त्रुटि र समस्या समाधानमा अघि बढ्नुपर्ने बताए ।

‘बाटोघाटो र बसमा यात्रा गर्नेहरू (सांसद)लाई कान नै थुन्नुपर्ने अवस्था आउँछ होला ? कुनै पसलमा पुग्दा के भन्दा होलान् ?’ नेता नेपालले भने, ‘त्यसैले जनताले के भन्छन् भन्ने कुरा प्रतिवाद गर्नका लागि होइन, जवाफ दिनका लागि होइन रियलाइज गर्न, कहाँ रह्यो त्रुटि ? खोज्ने कहाँ छन् ? समस्या पत्ता लगाउने र समाधान गर्ने संकल्प र आँटका लागि हुनुपर्‍यो ।’

सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरहँदा गृह प्रशासन गम्भीर नभएको आरोप लगाए ।

नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौति आइरहेको भन्दै गृहप्रशासनको चर्को आलोचना गरे ।

‘हाम्रा मन्त्रीज्यूले देख्नुभएको छ कि छैन ?’ नेता नेपालले प्रश्न गरे, ‘गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ थाहा छैन ? उहाँहरूलाई जानकरी हुन्छ कि हुँदैन थाहा छैन । गृह प्रशासन नामको चिज छ कि छैन थाहा छैन ।’

देशलाई टुक्राउने भन्दै खुलेआम अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही नगरेको भन्दै नेता नेपालले देश टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही गर्न बनेका निकायका व्यक्ति कहाँ छन् ? भन्दै प्रश्न गरे ।

उनले भने,‘ नेपालमा विभिन्न निकाय छन्, ती निकायमा रहने व्यक्तिहरू कस्ता होलान् ? जो राष्ट्रद्रोहीलाई पनि त्यत्तिकै छाडिदिन्छन् । तिनीहरूमा देशभक्ति र नेपालीको भावना छैन । त्यसले नेपाली भएर गौरव गर्ने कुनै काम छैन ।’

उनले नेकपाको सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै त्यसलाई पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।