(पार्थ मण्डल) भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका अध्यक्षविरुद्ध आन्दोलित बनेका असन्तुष्ट पक्षधरले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधवार ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस गठित संर्घष समितिले प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर कचनकवल गाउँपालिकाविरुद्ध ज्ञापनपत्र बुझाएका हुन् । संर्घष समितिका सदस्य नवराज भटट्राईले मुख्यमन्त्री शेरधन राईले ज्ञापनपत्र बुझाएका थिए ।
कचनकवल ६ स्थित बनियानी बजारमा रहेको गाउँपालिकाको कार्यालयको केन्द्र सार्ने चलखेल, तानाशाह एकाधिकार अन्त्य हुनुपर्छ, विकास निर्माण कार्य पारदर्शी गर्नुपर्छ, शिक्षा कार्यविधि खारेज गर्नुपर्छ, गाउँपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बन्द गरिनुपर्छ र पार्टी कार्यकर्ता मुखी बजेटलाई खारेज लगायतको मागहरु राख्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको संर्घष समितिका सदस्य नवराज भट्टराईले जानकारी दिए ।
‘गाउँपालिकामा भइरहेको एकाधिर शासनको बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका थियौ’, उनले भने, ‘यस बारेमा संघिय सरकारकै पहलमा असन्तुष्ट पक्षका मागहरु सम्बोधन गराउन मुख्यमन्त्रीलाई आग्रह समेत गरेका छौ ।’ अव संर्घष समिति गाउँपालिका विरुद्ध कानुनी लड्ने पक्षमा रहेको उनले प्रस्टाए । राप्रपाको बहुमतमा बनेको स्थानीय सरकारले संर्घष समितिको मागलाई सम्बोधन गर्न नचाहेपछि असन्तुष्ट पक्षधरले यसअघि जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापामा समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।
गाउँपालिकाका अध्यक्ष अञ्जार आलमसहित २४ जना जनप्रतिनिधि एक पक्षमा उभिएका छन् भने, असन्तुष्ट पक्षका १४ जना जनप्रतिनिधिसहित संर्घष समिति उनीहरु विरुद्ध उत्रिएका छन् ।
गत भदौ गाउँपालिका अध्यक्ष अञ्जार आलमले असार मसान्त भित्र सक्नुपर्ने दोस्रो गाउँसभा झण्डै दुई महिनापछि गर्न लागेको र सो सभाले केन्द्र परिवर्तनको निर्णय गर्न लागेपछि संर्घष समिति आन्दोलित बनेका थिए । बाहिर संर्घष समितिले आन्दोलन गरेपछि गाउँसभामै जनप्रतिनिधिहरु बीच हातपात समेत भएको थियो ।
जनप्रतिनिधि बीच हातपात हुदाँ कचनकवल ७ की महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएकी थिइन । आन्दोलन पक्षधरले गाउँसभा स्थलनमा तालाबन्दी गर्नुका साथै विभिन्न वडाहरुमा मसाल तथा मोवाइल जुलुस समेत प्रर्दशन गरिसकेको छ । यता घाइते भएकी महिला सदस्यले इदिङ्गोलेसत्तापक्षको दवावमा असन्तुष्ट पक्षका तीन जना जनप्रतिनिधि विरुद्ध इलाका प्रहरी कार्यालय बनियानीमा किटानी जाहेरी दिएकी छिन् ।










