प्रदेश नम्बर ७ को प्रस्तावित राजधानी कैलालीको धनगढी हो । तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी प्रस्ताव गरेको थियो । यतिमात्र होईन सातै प्रदेशको राजधानी देउवा सरकारले नै प्रस्ताव गरेको थियो ।
सात प्रदेश मध्ये धेरैमा राजधानीको टुंगो सहजै लागेतापनि ७ नम्बर प्रदेशमा निकै विवाद देखिएको छ । प्रदेशको राजधानी धनगढी की अत्तरिया भन्नेमा विवाद नहुँदै पुनः डोटीमा आमहड्तालको घोषणा गरिएको छ । साविकको क्षेत्रीय सदरमुकाम रहेको डोटीमा राजधानी हुनुपर्ने माग गर्दै त्यहाँका स्थानीय आन्दोलित बनेका छन् भने धनगढी बाहेक अर्को ठाउँमा राजधानी हुनै नसक्ने धनगढी उपमहानगरपालिकाका मेयरले बताउँदै आएका छन् । उहाँले धनगढीबाट राजधानी खोसियो भने सांसदहरुलाई नै जलाउने भनि दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक बहसको बिषय भनेको छ । धनगढीका स्थानीयले राजधानीको माग गर्दै बिहिबार पुरै बजार बन्द गराएका छन् । बुधबार मात्रै कांग्रेस समर्थक कार्यकर्ताहरुले ७ नम्बर प्रदेशको प्रदेशसभा भवन अगाडि चर्को नाराबाजी र टायर बालेर विरोध जनाएका थिए । र, राजधानी धनगढीको विकल्प नखोज्न भन्दै मुख्यमन्त्रीको राजीनामा मागेका थिए । उनीहरुले अत्तरिया राजधानी सार्नु भनेको त्यहाँको जंगल फडानी गरेर केही तस्करहरुलाई मोटाउन खोजेको आरोप लगाएका थिए ।
यता, अत्तरिया बासीले ७ नम्बर प्रदेशको राजधानी तेघरी बन्ने भएपछि स्वागत गरेका छन् । उनीहरुले त्यो स्वागत योग्य निर्णय भएको बताएका छन् । पहाडकै फेदीमा रहेको अत्तरिया सबै हिसाबले राजधानीका लागि उपयुक्त भएको उनीहरुको दाबी छ ।
यता, डोटीमा राजधानीको माग गर्दै आन्दोलन गरेका त्यहाँका स्थानीयहरुले पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले शुक्रबारदेखि डोटी ठप्प पार्ने चेतावनी समेत दिएका छन् । ७ नम्बर प्रदेशको राजधानी डोटी संर्घष समितिको बुधबारको बैठकले हिजो मात्रै घर–घरमा कालोझण्डा लगाएर राजधानीको प्रस्ताव गर्न गठित समितिले बुझाएको प्रतिवेदनको विरोध गरेका छन् । अब, ७ नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्नेमा प्रदेश सरकारको दुई तिहाइको भर पर्नुपर्ने अवस्था रहेको छ । प्रारम्भिक अनुमानका अनुसार प्रदेशको राजधानी कैलालीमै हुने देखिन्छ । डोटेलीहरुले आफ्नो अस्मिता लुटिएको भन्दै आक्रोश जनाएका छन् ।










