(विरेन्द्र न्यौपाने) भद्रपुर । जंगली हात्ती आतंकले स्थानीयमा त्रास फैलिएको छ । जंगल आसपासका गाउँवस्तीहरुमा दिनहु जंगली हात्ती निस्किन थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।

झापाको सदरमुकामदेखि ३ किलोमिटर उत्तर पर्ने चन्द्रगढी सामुदायिक वन र चारआली जंगलबाट निस्किने आधा दर्जन बढी जंगली हात्तीको बथानले भद्रपुर नगरपालिका अन्तरगतका वडा नम्बर ९ र १० मा दिनहुँ घर तथा गोठहरु भत्काउँदै अन्नबाली नष्ट गर्न थालेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधवार राती ६ वटा हात्तीले भद्रपुर १० स्थित कमल बरालको टाटी र टिनाले बनाएको तीन कोठे घर भत्काइ दिएको छ । घर भत्काउँदै हात्तीले घर भित्र रहेको चामल, धान, मैक, चोकर लगायतको अन्नबाली नष्ट गर्दा करिब एक लाख रुपैया बराबरको क्षति भएको पीडित बरालले बताए ।

राती १२ बजे निस्किएको हात्तीले केराको बोट भत्काउँदै घरआगनमा आएको उहाँको भनाई छ । त्यसैगरी दुई दिनअघि मात्र हात्तीले भद्रपुर ९ स्थित चन्द्रगढी टि स्टेट नजिकै रहेको नेत्र पौडेल, अर्जून कार्की, बिमला श्रेष्ठ, कुमार काफ्ले, कालीप्रसाद लिम्बुको घर भत्काएका थिए, भने कौशिला प्रसाईको धान खेती नष्ट गरिदिएको स्थानीय बताउँछन ।

रातको समयमा दिनहुँ हात्तीको बथान आहारको खोजीमा गाउँबस्तीमा पस्न थालेपछि स्थानीय हात्ती धपाउन रातभर जागरम बस्नु पर्ने अवस्था सृजना भइसकेको स्थानीय बिमला श्रेष्ठले बताइन् ।