काठमाडौं , १२ असोज ।
नेपाल कम्युनिस्ट पार्टी बिहीबारदेखि कार्यवाहक अध्यक्षविहीन भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यवाहक अध्यक्ष नतोकी विदेश भ्रमणमा निस्किएका हुन् ।
प्रधानम्न्त्री समेत रहेका ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा छन् भने अर्का अध्यक्ष दाहाल बुधवार राती पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
दुवै अध्यक्ष देशबाहिर हुँदासमेत पार्टीमा कार्यवाहक अध्यक्ष जिम्मेवारी कसैलाई तोकेको जानकारी नरहेको नेकपाका नेताहरुले बताएका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र केन्द्रीय कार्यालयबाट चलानी नभएको कार्यलय स्रोतले जनाएको छ ।
यसअघि दुवै अध्यक्ष देशबाहिर हुँदा पार्टीमा तेस्रो वरीयताक्रममा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । कार्यवाहक अध्यक्ष कोही पनि नतोकिदा पार्टी अहिले नेतृत्वविहीन रहेको र कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आएमा अन्यौल रहेको एक नेताले बताए ।










