चितवन, असोज १२ गते । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।

सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताउनुभयो । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताउनुभयो ।

सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताउनुभयो ।

युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँले बताउनुभयो ।

सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताउनुभयो । ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । (रासस)