काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थपूर्ण भेटघाट थालेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर बुधबार प्रचण्डले देउवासँग भेटेका हुन् ।
स्रोत अनुसार देउवाको सिंगापुर भ्रमण अघि पनि प्रचण्डले भेटेका थिए । उनीहरु बीच भेटवार्ताको विषय शान्ति प्रकृयाका बाँकी रहेका विषयहरु टुंगाउने रहेको बुझिन्छ ।
सरकारसँग असन्तुष्टिको प्रकट गर्न थालेका प्रचण्डले शान्ति प्रकृयाका बाँकी रहेका विषयहरु टुंगाउन उच्च राजनीतिक सहमति खोज्न थालेको बुझिएको छ । प्रधानमन्त्री केपी ओलीले शान्ति प्रकृयाका बाँकी रहेका काम पूरा गर्न खासै चासो नदेखाइरहेको बेला प्रचण्डले देउवाको सहमति खोजेको बुझिएको छ ।
‘शान्ति प्रकृयाका बाँकी रहेका काम प्राविधिक ढंगले मात्र हल गर्न सम्भव छैन र यसो गर्नु व्यवहारिक पनि हुँदैन, त्यसैले प्रचण्डले उच्चस्तरीय राजनीतिक समझदारी खोज्ने प्रयास थाल्नु स्वाभाविक हो,’ बुद्धिजीवी टिका ढकाल भन्छन् । उनका अनुसार शान्ति प्रकृयाका बाँकी रहेका काम सम्पन्न गर्ने उपयुक्त मौका आएको छ र यसका लागि कांग्रेस र नेकपा नेतृत्व गम्भीर हुन जरुरी छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोग अहिले निष्क्रिय प्राय रहेको छ । यी आयोग निष्कर्षमा पुग्ने सम्भावना टाढिँदै गएको छ । यो अवस्थामा ‘भावी प्रधानमन्त्री’का रुपमा बसिरहेका प्रचण्ड चिन्तित हुनु स्वाभाविक पनि हो । स्रोत अनुसार प्रचण्डले ओलीकै प्रधानमन्त्रीत्व कालमा शान्ति प्रकृयाका यावत काम पूरा गरेर क्लिन चीट लिन चाहेका हुन् ।
प्रचण्ड निकट स्रोतका अनुसार आगामी मंसिर ५ भित्र शान्ति प्रकृयालाई पूर्णाहुती दिने पक्षमा प्रचण्ड छन् । ०६३ मंसिर ५ मा तत्कालीन नेकपा माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो । सो सम्झौता अनुसार माओवादी शान्ति प्रकृयामा आएको थियो । शान्ति प्रकृयाले पूर्णाहुती नपाउन्जेल प्रचण्डले युद्ध अपराधबाट क्लिन चीट पाउन सक्ने अवस्था छैन । त्यसैगरी देउवालाई पनि क्लिन चीन चाहिएको छ । देउवा प्रधानमन्त्री रहेको बेला संकटकाल लगाइएको थियो ।
देउवा र प्रचण्ड दुवैले शान्ति प्रकृया टुंगाउन उच्चस्तरीय राजनीतिक सहमति चाहे भने पनि प्रधानमन्त्री ओलीले चाहन्छन् कि चाहँदैनन् भन्ने प्रष्ट भइसकेको छैन ।
कांग्रेस सभापति देउवा निकट एक नेताका अनुसार प्रचण्ड र देउवाले अब निरन्तर भेट गरी छलफल गर्ने सहमति समेत गरेका छन् । उता, प्रचण्ड निकट एक नेताका अनुसार प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेरै देउवासँग भेटवार्ता गरिएको हो ।










