काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आज (शुक्रबार) आयोजना गरेको भेलामा पार्टीका शीर्ष तहका नेताहरु उपस्थित भएका छन् ।
बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नेता नेपालले डाकेको भेलामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतम, सुवासचन्द्र नेम्वा, अग्नी सापकोटालगायतका शीर्ष नेताहरु सहभागी भएका छन् । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश रहेका बेला नेता नेपालले डाकेको भेलाले राजनीतिक वृत्तमा निकै ठूलो हलचल पैदा गरेको छ ।
वरिष्ठ नेता नेपालले बोलाएको वैठकमा सहभागी भएका नेता वामदेव गौतमले पार्टीलाई चलायमान र गतिशिल बनाउन यस्ता भेलाहरु आवश्यक रहेको बताउँदै भने, ‘माधव कमरेडले ठिक गर्नुभयो, यसले सरकारलाई सक्रिय बनाउन सघाउँछ ।’
उनले अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएकाले पनि मुलुकमा आमुल परिवर्तन ल्याउने गरी सरकारले काम गर्नुपर्ने बताए । नेता गौतमले सरकार सञ्चालनमा पार्टीका नेताहरुले पनि हौसला बढाउने काम गर्नुपर्ने बताएका छन् ।
सरकार र पार्टीको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै आएका पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षहरुको अनुपस्थितिमा भएको यो भेला कुनै अलोकप्रिय निर्णयका लागि नभई सरकार र पार्टी सञ्चालनलाई चुस्त बनाउनका लागि मात्र भएको स्पष्ट पारेका छन् ।
उनले अहिलेको कम्युनिष्ट सरकारसँग नागरिकको अपेक्षा बढी रहेको जनाउँदै नागरिकको अपेक्षालाई थोरै भए पनि सम्वोधन गर्ने गरी सरकारले आफूलाई क्रियाशिल गराउनु पर्ने धारणा राखेका छन् ।
उनले वर्तमान सरकारबाट भ्रष्टाचार, कुशासन, असुरक्षा, हत्याहिंसाको अन्त्य हुने विश्वास जनताले लिएको भए पनि सरकारले क्षमता अनुसार काम गर्न नसक्दा नागरिकमा निरासा पैदा भइरहेको नेता नेपालले बताएका छन् ।
कार्यक्रममा सहभागी अधिकांश शीर्ष नेताहरुले वर्तमान सरकारले धेरै महत्वपूर्ण र उपलब्धीमुलक कामहरु गरेको भए पनि सञ्चार कमीका कारण जनतालाई जानकारी गराउने काममा पछाडि परिरहेको बताएका थिए । उनीहरुले सरकार पारदर्शी बन्दै थप चुस्त र गतिशिल बन्नुपर्ने औल्याउँदै यस्ता भेलाहरुले सरकारलाई काम गर्ने दौरानामा मार्गनिर्देश गर्न सहयोगी बन्ने बताएका छन् ।
वर्तमान सरकार सक्षम भए पनि मन्त्रीहरुको लासोपनका कारण समाजमा शान्ति सुव्यवस्था नागरिकले चाहे अनुसार स्थापित हुन नसकेको भन्दै हिजो वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा सरकारलाई यसतर्फ सचेत हुन खुल्ला आग्रह गरेका थिए । नयाँ पेज बाट साभार










