शान्तिराम कार्की/काठमाडौं प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध बरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गर्नुभएको चियापान भेलामा चार मन्त्री सहभागी बन्नुभएको छ । आफ्नो सहमतिबिनै अध्यक्ष ओली र दाहालले प्रदेशका पदाधिकारी तोकेको कारण भिडने भन्दै नेपालले आवश्यक रणनीति बनाउन भेला आयोजना गर्नभएको थियो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा नेपालको छवी बिश्व समुदायसमक्ष राखिरहेको बेला दलको तर्फबाट संसद बैठकमा बोल्दै सरकारबिरुद्ध कडा आक्रोश पोखेर नेपालले आफ्नो गुट निर्माणको अभियान थाल्नुभएको थियो ।
पार्टी एकतासँगै बरियतामा माथि उक्लिनु भएका तर केही दिनयता आध्यक्ष ओली र प्रचण्डबिरुद्ध आगो ओकल्न थाल्नुभएका बरिष्ठ नेता नेपालले आयोजना गर्नुभएको भेलामा उर्जामन्त्री बर्षमान पुन, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी हुनुभएको हो । सहभागी एक नेताका अनुसार महासेठ र बिष्ट भेलाको सुरुमै आएर साथ छ भन्दै बाहिरिनु भएको थियो पुन र पोखरेल साँझतिर पुग्नुभएको थियो ।
उर्जामन्त्री पुन र शिक्षामन्त्री पोखरेल निकै समय बस्नुभएको थियो । स्रोतका अनुसार शिक्षामन्त्रीपोखरेल भने ओली र दाहालबिरोधी भेलामा सहभागी हुनुअघि कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलसँग रक्षा मन्त्रालयमै पुगेर अनुमति लिनुभएको थियो । कार्यबहाक प्रधानमन्त्री पोखरेललाई भेलामा आउने बिषय जानकारी गराउने गरी अनुमति लिएर शिक्षामन्त्री साँझ माधव नेपालको भेलामा पुग्नुभएको स्रोतको भनाई छ ।
दिउसो तीन बजेबाट बोलाइएको भेला साँझसम्म जारी थियो । चियापानकालागि स्थायीसमिति सदस्यलाई निम्तो दिइएकोले फरक फरक समयमा नेताहरुपुगेकाथिए । आउने सवै नेतालाई नेपालले ओली र दाहाल आफूलाई बाइपास गरेर एकलौटी रुपमा चल्न खोजेको, पार्टी र सरकार दुवैतिर अराजकता बढेको भन्दै आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो ।
‘दुवै अध्यक्षप्रति अलिक बढी नै आक्रोशित देखिनु भयो, पार्टी र सरकारको काममाथि आपत्तिजनक आक्षेप लगाउनु भयो, यो शब्द नभनौं,’ भेलामा सहभागी एक नेताले भने । स्रोतका अनुसार भेलामा उपस्थित स्थायी कमिटी सदस्यहरुले जनाएको समर्थनको आधारमा नेता नेपालले ओली र दाहालबिरुद्ध भिडने निश्कर्ष निकाल्नु भएको छ । दुवै अध्यक्ष नेपालमा नरहेको बेला तेस्रो बरियतामा रहनु भएका नेता नेपालले अध्यक्षकै बिरुद्धमा भेला बोलाउनु भएको हो ।
उहाँको मुख्य माग बिधि र प्रक्रिया मिचेर पार्टीमा निर्णय हुन थालेको भन्ने रहेको छ । तात्कालिन एमालेमा अध्यक्ष ओलीपछिको बरियतामा रहनु भएका बरिष्ठ नेता झलनाथ खनाललाई बिधि र प्रक्रिया मिचेर एक तह झार्नमा भने नेपालकै भुमिका रहेको थियो । खनालले यस बिषयमा सार्वजनिक रुपमै अन्याय गरेको जनाई सच्याउन निरन्तर संघर्ष गर्ने बताउनु भएको थियो ।
ओली सरकारकै मन्त्रीहरु भेलामा पुगेर पार्टी निर्णयको बिरोधमा सहमतभएको भन्दै प्रधानमन्त्रीसमेत सहनुभएका ओली र अर्का अध्यक्ष दाहाललाई शुक्रवार नै उजुरी गरिएको छ । ‘मन्त्रीहरु प्रधानमन्त्री र पार्टी अध्यक्षकै बिरुद्धमा बोलाइएको भेलामा जानु उचित हुन्न, यति पनि नबुझ्नेले मन्त्री पदमा राखिरहनु हुन्न भन्ने कुरा दुवै अध्यक्षलाई स्मरण गराइएको छ,’ नेकपाका एक नेताले भने ।










