देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ । केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय सुरक्षा गण सिंहदरबारका एक प्रहरी अधिकृतले भने– ‘अब सिंहदरबारभित्र २४ सै घण्टा सुरक्षा प्रदान गरिन्छ, मन्त्रीका स्वकीय सचिव कुटिएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा थप घुम्ती टोली परिचालन गरिएको छ ।’

सिंहदरबारभित्र बीस जनाभन्दा बढीको डेलिकेसन आएको अवस्थामा उक्त टोलीले निगरानी गर्ने भएको छ । मन्त्रालयभित्र विभिन्न काम लिएर सर्वसाधारणको भीड लाग्ने गरेको छ । मन्त्रालयभित्र मन्त्रीका स्वकीय सचिवहरुले फोन गर्नासाथ प्रहरीको घुम्ती टोली पुग्ने गरेको महानगरीय सुरक्षा गणले बताएको छ ।

गेटमा पास लिएर मन्त्रालयसम्म पुगेर पनि मन्त्रीलाई भेट्न स्वकीय सचिवहरुले आनाकानी र बहानाबाजी गर्ने क्रम बढेको भन्दै सर्वसाधारण असन्तुष्ट बन्दै आएका छन् । पहुँच र पावर भएकाले मात्र मन्त्रीलाई सहज रूपमा भेट्न पाउने, सर्वसाधारण र पार्टीका कार्यकर्ताले समेत सामान्य कामका लागि घण्टौँ कुर्नुपर्ने मन्त्रीको सचिवालयमा पर्ने गरेको छ ।

सिंहदरबारभित्र यसअघि गाडी र मोटरसाइकललगायतका सामग्री हराएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । सिंहदरबारभित्र सुरक्षाको कारण देखाउँदै पश्चिम दक्षिणको सुरक्षा गेट सर्वसाधारणका लागि बन्द गरिएको छ । हाल सिंहदरबारको दक्षिण गेट मात्र सर्वसाधारणका लागि खुल्ला गरिँदा गेटमा ट्राफिक जाम बढेको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार गठन भएर सञ्चालनमा आए पनि सिंहदरबारमा भने सर्वसाधारणको भीड घटेको छैन् ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।