काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई नेता योगेश भट्टराई र विष्णु रिमालबीच फेरि जुहारी सुरु भएको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार इन्द्रेणी फुडल्यान्ड बानेश्वरमा स्थायी कमिटी सदस्यका लागि चियापानको आयोजना गरेको विषयप्रति संकेत गर्दै प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अमेरिकाबाटै ट्विटरमा ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ’ भनेर लेखेका थिए ।
रिमालले प्रधानमन्त्री ओली विदेशमा भएका बेला नेपालमा उनको सत्ता ढाल्न पार्टीमै खेल भइरहेको र त्यसका लागि विदेशी नेतासँग छलफल गरेको अर्थ लगाएका छन् । नेकपाकै दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत, चीन र सिंगापुर भ्रमणप्रति पनि रिमालको ट्विट लक्षित भएको अनुमान छ ।
तर, अहिले नेता नेपालले स्थायी समिति सदस्यको भेला गराएकाले उनीप्रति नै रिमालको आरोप भएको अनुमान गरिएको छ । रिमालले माधव वा प्रचण्डमध्ये कसको राजनीति पतन हुन लागेको हो भन्ने स्पष्ट नखुलाए पनि यसलाई माधव नेपाल पक्षका कार्यकर्ताले राम्रो मानेका छैनन् ।
रिमालले स्थायी समिति सदस्यको भेलालगत्तै ट्विट गरे पनि नेकपाका स्थायी समिति सदस्यसमेत रहेका योगेश भट्टराईले शनिबार त्यसको जवाफ फर्काएका छन् । योगेशले लेखेका छन्, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् । कठै दोषी चस्मा ।’ रिमाल र भट्टराई दुवै नेकपा स्थायी समिति सदस्य हुन् । रिमालले योगेशलाई आफ्नो प्रमुख प्रतिस्पर्धी मानेका छन् ।
पार्टी र आमजनतामाझ योगेशको छवि राम्रो छ । तर, रिमालको छैन । योगेशलाई मन्त्री बनाउन र संसदीय सुनुवाइ विशेष समितिको सभापति बन्नबाट रोक्न विष्णु रिमालले नै प्रमुख भूमिका खेलेको पार्टी नेताहरूकै आरोप छ । पार्टीमा योगेशलाई महत्वपूर्ण भूमिका वा जिम्मेवारी दिएमा आफू पछि पर्ने डर विष्णु रिमालमा देखिएको माधव पक्षका नेताहरू बताउँछन् ।
सोही कारण अहिले उनले प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटका लागि एकद्वार प्रणाली लागेको बताइएको छ । अहिले नेकपाकै प्रभावशाली नेता र मन्त्रीले समेत प्रधानमन्त्री ओलीलाई रिमालको स्वीकृतिविना भेट गर्न पाउँदैनन् ।मिडिया एनपी बाट










