काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् । उनको अहिले सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि सीताको दुई साता बढी सोही अस्पतालमा उपचार गरिएको थियो । त्यहाँको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको बताइएको थियो । अहिले फ्लोअप उपचारका लागि सीतालाई लिएर प्रचण्ड सिंगापुर पुगेका हुन् ।

अस्पतालका न्युरो विशेषज्ञले प्रचण्ड पत्नी सीतालाई प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको जानकारी गराएको स्रोतले बताएको छ । पीएसपी पार्किन्सन्स र अल्जाइमर्स जस्तै गम्भीर रोग भएको चिकित्सकहरू बताउँछन् । यसअघि भारतको दिल्लीस्थित मेदान्त अस्पतालले पनि सीतालाई पार्किन्सन्स र अल्जाइमर्सको लक्षण देखिएको भन्दै त्यसकै औषधि चलाएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

चिकित्सकहरूका अनुसार पीएसपी मस्तिष्कमा लाग्ने रोग हो । यो कहिल्यै निको नहुने दीर्घरोग हो । यो रोगका बीरामीलाई औषधिले केही वर्ष मात्रै राम्रो काम गर्ने चिकित्सकको भनाइ छ । पीएसपी भएपछि स्नायु कोष निष्क्रिय हुने भएकाले शरीर कडा हुने, काम्ने, सुस्तपन आउने, हिँड्दा हुत्तिने र शरीर अररो हुँदै जान्छ । केही बिरामीमा डिप्रेसनसमेत पैदा हुने बताइन्छ । राम्रो पारिवारिक वातावरण र हेरचाह, नियमित औषधि, ब्यायाम र सन्तुलित आहारले बिरामीको आयु बढ्न भने सम्भव रहेको चिकित्सकहरूको भनाइ छ ।

पत्नी सीता विरामी भएकाले प्रचण्ड विगत एक वर्षदेखि तनावमा छन् । छोरा प्रकाशको निधनसँगै सीतामा रोग थपिएको छ । सीताको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा प्रचण्डको राजनीतिक परिधि खुम्चिँदै गएको छ । मिडियाएनपी बाट साभार