काठमाडौं, १५ असोज । एमाले र माओवादी केन्द्र एकतापछि नेपाल कम्युनिष्ट पार्टी बन्यो । पार्टी एकता भएको ४ महिनासम्म पनि पोलिटब्यूरो बनेको छैन । पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनेको छ । त्यसमा महिलाको संख्या न्यून भएको भनी विरोध हुँदैआएको छ ।
महिलाको संख्या थप्नका लागि केन्द्रीय समिति अझै थप हुने कुरा नेताहरुले नै चुहाउने गरेका छन् । केन्द्रीय समिति गठन गर्दा पार्टीमा लामो इतिहास र योगदान भएकाहरुलाई नसमेटिएकोमा पूर्वएमालेभित्र असन्तुष्टी कायमै छ ।
पूर्वएमालेमा राजनीतिक रुपमा कसैको भन्दा कम योगदान नभएका पुरुषोत्तम पौडेल, सोभियत ढकाल, दीपकप्रकाश भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनाराण साहहरु केन्द्रीय सदस्यमा अटाउन सकेनन् । तर चुरेभावर पार्टीबाट २–४ जना लिएर चुनावअघि एमालेमा प्रवेश गरेका बद्री न्यौपाने केन्द्रीय सदस्य भएका छन् ।
युवानेता सोभियत ढकालको नाम काटेर उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । नवौं महाधिवेशनमा निर्वाचन मण्डलका प्रमुख सोमनाथ प्यासीले उनलाई ८ सय ८६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा बिजयी घोषणा गरे । उनीभन्दा ७ मत कम पाएका खेम लोहनीलाई भोलिपल्ट बिजयी घोषणा गरिएको थियो ।
अघिल्लो दिन निर्वाचन आयोगले ढकालको मत ८७६ र लोहनीको ८७९ मत पाएको घोषणा गरेको थियो । तर रातारात उनको मत घटी देखाएर लोहनीलाई बिजयी घोषणा गरिएको थियो ।
निर्वाचन आयोगले बिजयी घोषणा गरेपछि ढकाललाई बधाईको ओइरो लाग्यो । साथीभाइहरुले भोजभतेर गरे । तर त्यो खुसी क्षणभंगुर सावित भयो । उनीमाथि यो पहिलो अन्याय थियो । त्यसपछि नेकपाको पार्टी एकता भएपछि ४ सय ४१ सदस्य केन्द्रीय कमिटीमा उनको नाम परेको भनेर पार्टीका धेरै नेता र कार्यकर्ता तथा जिल्लाबासीले बधाइ दिए ।
१८० जना उनका शुभचिन्तकहरुले उनलाई सामाजिक संजालमा फोटो राखेर बधाइ दिएका स्टाटस राखे । तर उनको नाम काटेर बद्री न्यौपानेको नाम राखियो । बरु सुरुमै नाम नराखेको भए उनलाई त्यति पीडा हुँदैनथ्यो, तर नाम राखेर काटिएपछि उनकी मुटुको अप्रेसन गरेकी आमाले १ साता त खाना समेत नखाएको नमिठो पीडा उनले सहेका छन् ।
ढकालमाथि अन्याय र अपमानको शृंखला यतिमा मात्र सीमित छैन, वाम गठबन्धन बनेपछि भएको चुनावमा उनी स्याङ्जाको क्षेत्र नम्बर २ को प्रदेश ख बाट उम्मेदवारका सशक्त दाबदोर थिए । ढकाललाई उम्मेदवार बनाए जित्ने देखिएपछि उक्त प्रदेशमा एमालेको कोटा काटेर माओवादीका सुरज गैरेलाई दिइयो ।
फलस्वरुप उक्त प्रदेशमा वामगठबन्धनका उम्मेदवार गैरे हारे । स्याङ्जामा माओवादीको जनमत नभएकाले हार्ने देखीदेखी नेतृत्वले ढकाललाई बन्चित गर्न त्यसो गरिएको समयक्रमले पुष्टी गरेको छ । प्रतिनिधिसभाको चुनाव लड्दै गरेकी वर्तमान भूमिब्यवस्था मन्त्री पद्मा अर्यालले ढकाललाई उम्मेदवार दिइए संभावित बुथकब्जादेखि आर्थिक स्रोतको ब्यवस्थापन सहज हुने आशा गरेकी थिइन् । तर फरक गुटमा भएकै कारण उनीमाथि बन्चरो चलाइयो । र, प्रदेशको टिकटबाट बन्चित गरियो ।
यसरी पटक पटक अन्यायमा पारिएका ढकालदेखि पुरुषोत्तम पौडेल, दीपकप्रकाश भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनारायण साहहरुलाई पनि पारेको खण्डमा पार्टी थप बलियो हुने अपेक्षा एमाले पंक्तिभित्र गरिएको छ । जनविकास मावि पाल्पामा अध्ययन गर्दादेखि अखिलमा संगठित भएका सोभियत ढकाल एमालेभित्र पटक पटक अन्यायमा पारिदैआएका छन् । उनी २०५० मा पाल्पा अखिलको सदस्य, २०५२ मा पृथ्वीनारायण क्याक्पस पोखराको स्ववियु सदस्य, ०५४ मा पीएन क्याम्पसको प्राक अध्यक्ष, ०५५ देखि अखिल केन्द्रीय सदस्य ३ कार्यकाल भए ।
त्यसपछि अनेरास्ववियुको सचिवालय सदस्य र उपाध्यक्ष भई जनकपुर महाधिवेशनबाट अध्यक्षमा झिनो मतले पराजीत भएका थिए, आजको साँघु साप्ताहिकमा समाचार छ । एमालेको गण्डकी अञ्चल सचिवालय सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत भए । एकता नहुन्जेल उनी एमालेको राष्ट्रिय हित सुरक्षा विभागको सचिव थिए । यसरी योगदान, क्षमता र योग्यता भए पनि गुटगत आधारमा अन्यायमा पारिएका ढकाल लगायतका नेताहरुले अबको केन्द्रीय समिति विस्तारमा अवसर पाउने अपेक्षा गरेका छन् । पार्टी एकताअघि नै एमाले प्रवेश गरेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाइयो ।
भोलि नेकपा कमजोर भए न्यौपाने अर्को बलियो पार्टीमा हाम्फाल्नेछन्, त्यतिबेला नेकपाको लागि आवश्यक पर्ने सोभियत ढकालदेखि दीपकप्रकाश भट्ट नै हुन् । उनीहरु अपमान र अन्याय सहेर पनि पार्टीकै हितमा लागिरहेका छन् । पार्टीसहित बिलय गरेका युवा पुण्य गौतम विश्वासको नाम पनि अन्तिममा आएर नेकपाको केन्द्रीय सदस्यबाट काटिएको थियो । नयाँपेज बाट साभार










