गणतन्त्र नआएको हुँदो हो त, नारायणहिटी दरवार र महाराजगञ्जस्थित निर्मल निवासमामात्र होइन, सिँगो मुलुकले नै राजपरिवारको एक महत्वपूर्ण सदस्यको जन्मदिन मनाइरहेको हुने थियो।

ती सदस्य जो, ‘युवराज पारश’ गद्दीमा बस्नासाथ ‘नेपाल अधिराज्य’ कि बडामहारानी घोषित हुने थिइन्। अर्थात्, ‘युवराज्ञी’ हिमानी शाह।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार (१५ असोज) को विहानी सकिएर दिउसोतर्फ ढल्कँदै गर्दा पूर्व युवराज्ञी हिमानीले ट्वीट गरिन्, ‘आज मेरो ४२ औँ जन्मदिन।’

समय कति बलवान हुँदो रहेछ भन्ने कुरा आफ्नो जन्मदिनबारे उनी आफैले जानकारी दिनुपर्ने स्थिति सिर्जना हुनुले बताउँछ। राजतन्त्र रहेको हुँदो हो त, उनी आफैले यसरी आफ्नो जन्मदिनबारे सामाजिक सञ्जालबाट जानकारी दिनुपर्ने थिएन।

राज्यले नै क्यालेण्डरमा ‘युवराज्ञीको जन्मदिन’ भनेर उल्लेख गर्ने थियो। देशभरि विहानैदेखि उनको जन्मदिन मनाइएको हुने थियो।

तर, आफ्नो जन्मदिनबारे हिमानी आफैले सामाजिक सञ्चालबाट जानकारी दिनुपरेको मात्र छैन, पूर्व राजपरिवारको वासस्थान निर्मल निवाससमेत यतिबेला सुनसान छ। त्यहाँ पनि कुनै उत्सव आयोजना गरिएको छैन।

पूर्व युवराज पारशबाहेक राजपरिवारका सबै सदस्य मुलुक बाहिर रहेकाले हिमानीको जन्मदिनमा समेत निर्मल निवास सुनसान बनेको हो। पूर्व राजा ज्ञानेन्द्र, ज्ञानेन्द्र पत्नी कोमल शाह, पूर्व युवराज्ञी हिमानी लगायत राजपरिवारका सबैजसो सदस्य भदौ अन्तिम सातादेखि नेपालमा छैनन्।

पूर्व राजा ज्ञानेन्द्र सहित पूर्व राजपरिवार २९ भदौमा थाइल्याण्ड प्रस्थान गरेको थियो। थाइल्इाण्डबाटै श्रीलंका, भारत लगायतका मुलुकको भ्रमणमा जाने पूर्व राजपरिवारको योजना थियो।

‘सम्भवत पूर्व राजपरिवार यतिबेला श्रीलंका भ्रमणमा छ’ निर्मल निवास स्रोतले भन्यो, ‘दशैँको हाराहारीमा मात्र पूर्वराजा ज्ञानेन्द्र, युवराज्ञी हिमानी सहित पूर्वराजपरिवार स्वदेश फर्कने योजनामा छ।’

पूर्व राजपरिवारका सबै सदस्य मुलुक बाहिर रहेकाले हिमानीको जन्मदिनमा पनि निर्मल निवास सुनसान हुन पुगेको हो। नत्र गणतन्त्र आएपनि निर्मल निवासमा जन्मदिनको उपलक्ष्यमा शुभकामना प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको हुन्थ्यो, जहाँ राजतन्त्र पक्षधरहरु पुगेर शुभकामना प्रदान गर्ने गर्थे।