विष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाको पहलमा झापाको दमकमा सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिबिर शुरु गरिएको छ । सोमबारदेखि दमक रेडक्रस भवनमा बन्ध्याकरणका लागि क्लिनिक स्थपना गरिएको छ ।
५ दिनका लागि यहाँ क्लिनिक स्थपना गरिएको जनाईएको छ । सोमबार ४० वटा कुकुरको बन्ध्याकरण भएको दमक नगरपालिकाले जनाएको छ । नगर प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकिय अधिकृत गणेश गौतम लगायतले बिहान आएर शिबिरको अवलोकन गरेका थिए ।
जालको प्रयोग गरेर कुकुरहरुलाइ कुनै असर नपर्ने गरी गाडिमा हालेर रेडक्रसमा ल्याईएको थियो । बन्ध्याकरण गरिएका कुकुरहरु अपरान्ह जहाँबाट ल्याइएका थिए त्यहि लगेर छाडिएको बताईएको छ ।
कुकुरको बन्ध्याकरणले थप कुकुर उत्पादन नियण्त्रण हुने अपेक्षा नगरपालिकाको रहेको दमक नगरपालिका पशु सेवा शाखा प्रमुख डा. गणेश प्रधानले बताए ।
उनका अनुसार २ सय कुकुरको बन्ध्याकरण गरिने छ । लगातर ४ देखि ५ बर्ष बन्ध्याकरण शिबिर गर्दा यस प्रकारका कुकुर नियण्त्रण हुनसक्ने उनले जनाए ।
हिमालयन एनीमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपाल पोखराले यस काममा प्राविधिक सहयोग गर्दै आएको छ । यसमा चिकित्सक सहित कुकुरसंग सम्बन्धित बिज्ञहरु समेत रहेको बताइन्छ ।
सडक सामुदायिक कुकुरको बन्ध्याकरण, एन्टी रेविज भ्याक्सिन, आन्तरिक तथा बाह्य परजीविसम्बन्धी औषधीलगायतको सेवा प्रदान गरिने बताइएको छ यसले रेबिजको सम्भावित जोखिम समेत न्यूनिकरण हुनेछ ।










