काठमाडौं ।

हाल कोस्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँको शान्ति विश्व विद्यालयले मानार्थ विश्व विद्यावारिधिको उपाधी प्रदान गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको हो ।

मंगलबार आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । उनले भने, ‘यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसनीय छ ।’

प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आएपनि संयुक्त राष्ट्र संघमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए । राष्ट्र संघको महासभाको ७३ औँ महाधिवेशनमा आतंकवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्ग्ति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबि अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिए । उनले हजारौँ जनताको ज्यान गृहयुद्धका कारण गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा व्यक्त गरे । उनले भने, ‘पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।’

शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र संघको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५ र ५५ बाट स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्ति सम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालिममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ ।

रेक्टर आराभेनाले नेपाल र कोस्टारिकाबीच रहेका भिन्नता र समानताबारे बताउँदै शान्ति विश्वविद्यालयका क्रियाकलापका विषयमा जानकारी दिए । विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्रा्ष्ट्रिय कानून विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिए ।

यसैगरी कोस्टारिकाका विदेश मामिला उपमन्त्री लोरेना अगुइलरले नेपालमा शान्ति र प्रजातन्त्र स्थापनाका लागि प्रधानमन्त्री ओलीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए । कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि जनताबीच सम्बन्ध स्थापना हुन थालेको बताए ।

समारोहपछि रेक्टर आराभेनाले प्रधानमन्त्री ओलीको सम्मानमा विश्वविद्यालयको ‘रिक्रियटिभ पार्क’ मा दिवाभोजको आयोजना गरे । समारोहमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो ।