भक्तपुर– भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् ।

काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ३६५० नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् ।

आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताए । प्रहरीको लाठीचार्जबाट आक्रोसित भीडले ढुङ्गाहानेपछि सूर्यविनायक क्षेत्र राति ८ः३० बजेसम्म तनावग्रस्त बनेको छ ।

आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । राति ८ः३० बजेसम्म अश्रुग्यास हानेर भीड तितरवितर बनाएपछि दमकलले आगो निभाएको छ ।