काठमाडौं, असोज १८
चाडवाडको मौका पारेर व्यापारीले चिनीको मुल्य बढाएपछि सरकारले खुद्रा मुल्य तोकिदिएको छ । ६५ रुपैयामा पाइदै आएको चिनी केही दिनदेखी ८० रुपैयाँदेखी ९० रुपैयाँसम्म बेच्न थालेपछि सरकारले खुद्रा बिक्री मुल्य ७० रुपैयाँ तोकेको हो । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको छ। ‘अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले भन्नुभयो, ‘सोहीअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छौं ।’ उक्त निर्देशनअनुसार विभागले बजार अनुगमन तीव्र पारेको उहाले दाबी गर्नुभयो । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि हाल बजारमा चिनीको मूल्य अकासिएको छ ।
मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले मूल्य बढेर ठाउँअनुसार किलोमा १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । सरकारले तत्काल कदम नचाले मूल्य बढेर प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुग्ने जानकारहरू बताउँछन् । यसैविच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई पानी उद्योगमा सिलबन्दी गरेको छ । विभागले बनेपास्थित पञ्च वेभरेज प्रालि र बुद्धल्यान्ड मेलम्ची मिनरल वाटर प्रालिको उत्पादनमा सिलबन्दी गरेको हो । विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अनुगमनका क्रममा अनुज्ञापत्र नवीकरण नगरेको, जारमा सुरक्षण सिल नलगाएको, प्रशोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ गरेको र प्रशोधित पानीको उत्पादन निर्देशिका अनुरूप मापदण्ड पूरा नगरेको फेला परेपछि सिलबन्दी गरेको जनाइएको छ । विभागले मंगलबार नयाँ बानेश्वरस्थित संगम स्विट्सको गोदाम सिल गरी बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।










