काठमाडौँ । ८ असोजको दिन सूर्य उसैगरी उदायो । वसन्ती परियारले दिन त्यसैगरी व्यतीत गरिन्– जस्तो हिजो बितेको थियो । महिनादिनअघि मलेसियाबाट फर्किएका श्रीमान् । पायल्स र मधुमेयले क्षीण बनाएको थियो उनलाई । बलिष्ठ हात पाखुरा कर्कलो ओइलाएझैँ लल्याकलुलुक बनेका थिए ।

हरियोपरियो खुवाउन सके तंग्रिन्थे कि भन्ने ध्याउन्नले उनी कावासोती, डन्डा बजारतिर लागिन्– बहिनी सञ्जुलाई साथमा लिएर । “खै किन हो त्यसदिन बहिनी सँगै लैजान मन लाग्यो । अन्तरआत्माले नै साथी लैजा भन्यो मलाई,” सम्झिन्छिन् उनी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तरकारी बजार टाढा थिएन । दश–बाह्रघर पर्तिर । अन्यत्र जानुपर्ने पनि होइन, आफ्नै आमाले तरकारी पसल थापेकी थिइन् ।

विदेशबाट रोग ‘आर्जेर’ फर्किएका ज्वाइँ । आमाले तोरीको साग राखिदिएकी रहिछन् । उनले प्लास्टिकमा पोको पारिन् र घरतिर फर्किइन् । फर्कंदा अँध्यारो भइसकेको थिएन तर उज्यालो पनि होइन । झट्ट हेर्दा मान्छे चिन्न नसकिने गोधूली भएको हुँदो हो ।

घर पुग्न दुई घरमात्रै बाँकी थियो । झाडीबाट खस्याक्क आवाज आयो । कुकुर पसेको होला भन्ठानिन्, खासै वास्ता गरिनन् ।

केको हुन्थ्यो ! हत्त न पत्त एकजना युवक निस्कियो । दगुर्दै आएर चुल्ठोमा समात्यो र अनुहारमा सिसीबाट झोल खन्यायो । आफूमाथिको आक्रमणको भेउ पाइनन् उनले । तातोपानी खन्याएँ अनुहार भतभती पोल्दै थियो । चक्कुझैँ लाग्ने धारिलो हतियारले भकाभक हान्यो । तीन पटकसम्म उनलाई याद छ त्यसपछि केही थाहा छैन, खै कतिपटक चक्कुले अङ्ग छेड्यो !

एकातिर तेजाबको जलन । अर्कातिर चक्कुको चोट । रगतपच्छे भयो शरीर । मस्तिष्कले पीडा मापन गर्नै सकेन ! “के गर्नुभएको विमल अङ्कल ?,” सँगैकी बहिनी चिच्याएको उनलाई घुर्मैलो याद छ । अतिशय चोट र तेजाबको जलनले उनको शरीर सिथिल भइसकेको थियो ।

चोटले चेत गुमिसकेको थिएन । मस्तिष्कले पहिचान गरिहाल्यो– अपराधी उनकै छिमेकी (जसलाई उनी दाइ भनेर सम्बोधन गर्थिन् ) विमल श्रीपाली रहेछन् ।

० ० ०

तेजाबको जलन र अत्यधिक रक्तश्रावसँग हार मान्नु भएर उनी डंग्रङ्ग भुइँमा पछारिइन् । “गुहार् गुहार्.. बचाऊ... बचाउ...!” शरीरको बल सकेजती खिचेर चिच्याइन् पनि । तर छिमेकी ‘रमिते’ बने । कति त देखेको नदेख्यै गरेर हिँडे । मध्यविन्दु अस्पताल टाढा थिएन । ढुङ्गो हुर्‍याएजत्तिकै नजिक थियो । रगताम्य भएर ढलेकी वसन्तीलाई हेर्नेको ताँती थियो । ती कसैले अस्पताल पुर्‍याउन सहायता गरेनन् ।

निरूपाय भएकी बहिनी सञ्जुले दिदीलाई बोलाउन गइन् र दुई दिदीबहिनीले एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याए । अत्यधिक रक्तश्रावले शरीर नीलो भइसकेको थियो । चक्कुले शरीर चाल्नोझैँ भएको थियो । “पेटबाट निस्किएको आन्द्रा आफैँले सँगेलेँ,” कहालीपूर्ण घटना आफैँ सुनाउँछिन् उनी ।

“दलित भएर पो छुन मानेनन् कि, नत्र छिमेकी यति अविवेकी र असहयोगी हुनुनपर्ने !,” चक्कुको चोटले भन्दा बढ्ता पिरोलेको छ उनलाई घटनादर्शीको उदाशीनताले ।

उनको अवस्था देख्नेबित्तिकै चिकित्सक आत्तिए र तुरुन्तै भरतपुर अस्पताल लैजान सुझाए । त्यतिञ्जेल उनका श्रीमान् यमनारायण अस्पताल आइपुगिसकेका थिए । पत्नीको अवस्था देख्नासाथ उनी विह्वल भए । पाखुरा खैँचिन थाले, “खै कहाँ छ अपराधी, त्यसको पनि यस्तै हालत बनाउँछु !”

आफन्तजनको सहयोगमा वसन्तीलाई भरतपुर पुर्‍याइयो । चिकित्सकको सात दिनको अथक मेहनतपछि चक्कुको चोटको असर न्यून हुँदै खतरामुक्त भएकी छिन् उनी । यद्यपि तेजाबको जलन रत्तिभर दूर भएको छैन । “बर्नको काम त बल्ल पो शुरू भयो,” पट्टि बाँधेको हात देखाउँछिन् उनी ।

को हुन् विमल ?

विमल श्रीपाइली नचिनेका अभियुक्त होइनन् । सुर जोडिएका छिमेकी । घर जोडिएका छिमेकी भएपछि कहिलेकाहीँ हाँसो ठट्टा हुन्थ्यो । भारो पर्म चल्ने नै भयो । गाउँमा सबैले राम्रो भन्थे । सहयोगी र मृदुभाषी भएकाले सबैका ‘प्रिय’ नै थिए विमल । १४ वर्षअघि बिहे भएकी वसन्ती बिहे हुँदा पनि ठ्याक्कै त्यही उमेरकी थिइन्– १४ वर्ष । बिहे गरेर आएको बखतदेखि नै विमल राम्रै मुखले बोल्थे । परेकाबेला सघाउपघाउ गर्न हिच्किचाउँदैनथे ।

उनले पनि १४–१५ दिनकै फरकमा बिहे गरेका थिए । श्रीमतीसँग राम्रै सम्बन्ध थियो । दाजुभाइ नभएकाले वसन्तीले विमललाई दाइ भन्थिन् । उनले पनि मुन्टो हल्लाएर स्वीकृति दिन्थे । तर, विदेश गएपछि विमल अनायास बदलिए । उनले फेसबुक म्यासेजमा मायाप्रीतिका घुमाउरा कुरा गर्न थाले ।

दाजु–बहिनीबीच पनि त प्रेम हुन्छ । उनले अन्यथा सोच्न उपयुक्त ठानिनन् । “दाजु सोचेर फेसबुकमा कुराकानी गर्थें । छिमेकको दाइ इन्कार गर्नु पनि त भएन ! त्यही कुराकानी काल बन्छ भनेर कसरी सोच्नु,” उनको गला अवरुद्ध हुन्छ । पिप बग्दै गरेका आँखामा आँसु मिसिन्छ ।

विदेशबाट फर्किएर आएपछि विमलमा बदलाव आएको थियो । “विमलले वसन्तीलाई अध्यारो अनुहार लगाएर हेर्ने गरेको थियो । उसले वसन्तीसँग प्रेमको अपेक्षा गरेको हुँदो हो । धेरैपटक भागेर बिहे गरौँसम्म भन्न भ्याएछ । उनले मानिनन् । प्रतिशोध बढ्दै गएपछि तेजाब छ्याप्ने र चक्कु उज्याउने तहमा पुगेछ !” शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा भेटिएका वसन्तीका आफन्त भन्छन् ।

घटना घटाउनुअघिको विमल सम्झँदा उनीहरु छाँगाबाट खसेझैँ हुन्छन् । “त्यस्तो सरल र सहृदयी मान्छे मनमा पापको कुण्ठा कसरी बोकेर हिँड्दो हो ? आफ्नो जहान–परिवार भएको मान्छेलाई के मति लाग्दो हो ?,” अचम्मित हुन्छन् उनी ।

० ० ०

दुःखले दपेटेको परियार परिवार । दुःखैले जोडेको हो वसन्ती र यमनारायणलाई पनि । जूनजस्ती श्रीमती चक्कु र तेजाब आक्रमणमा परेर अस्पतालको शैय्यामा पल्टँदा उनको मुटु कुँजो बनेको छ । आँखाबाट आँसुको भेल बगिरहन्छ । श्रीमतीको तेजाबले खाएको ‘विद्रूप’ अनुहार गहिरो गरी नियाल्छन् र भित्रभित्रै मडारिन्छन्, “ममाथि बज्रपात भो !”

“आँगन जोडिएको छिमेकी, मैले उप्रति कहिल्यै वैरभाव राखिनँ । कहिल्यै अन्यथा सोचिनँ । उसले अध्यारो अनुहार लाउँदा, ‘के दुःख पर्‍यो होला ?’ भनेर मेरो मन पिरोलिन्थ्यो । अन्तिममा मेरो सुन्दर परिवारमा तेजाब खन्यायो । पलपल तड्पिएर बाँच्नुपर्ने बनायो,” भक्कानिन्छन् उनी ।

आउँदैजाँदै गरी ९ वर्ष उनले विदेशमा व्यतीत गरे । फूलजस्ता छोराछोरी छाडेर साउदी र मलेसियामा पसिना बगाउन पुगेका उनको जीवनमा कहिल्यै सुख सिञ्चित भएन । बरु पायल्स र सुगर थपियो । धन कमाउन भनेर जहाज चढेका उनी रोग कमाएर स्वदेश अवतरित भए । जीवनमा झन् ठूलो दुःख आइलाग्यो ।

“के कमाउनु हजुर शुरूमा विदेश उड्दा दलालले तीन लाख खाइदियो, त्यो पैसासमेत पुर्ताल गर्न सकिनँ,” आँखा पुनः रसाउँछन् उनका । “नेपालमै फर्कनुस् भोकै भए पनि जहान परिवार त सँगै हुन्छौँ,” श्रीमतीको मायालु वचनले एक महिनाअघि स्वदेश तानेर ल्यायो ।

० ० ०

‘अपराधी’ले कसैगरी बाटो पाउँदैन– यो ग्राम्य–कहावत् अभियुक्त विमलको हकमा पनि लागु भयो । तेजाबको जलनमा वसन्ती छटपटिइन् । अपराधको आगामा विमल छटपटिए । ६ः३० बजे घटना घटाएका विमल १० बजे प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरे– मैले रिसको झोँकमा वसन्तीमाथि तेजाब र चक्कु हानेँ ।

घटनाको प्रकृति हेर्दा वसन्तीको ज्यान लिने नियत देखिन्छ । भाग्यवस् उनी बाँचिन् । प्रतिशोधले आँखा टालिएका विमललाई अपराधले झन् जलाइदियो । र, प्रहरी कार्यालय गएर अपराध कबोले । “‘पूर्वसहमति पालना नगर्दा’ बदला लिन चक्कु हानेँ र तेजाब खन्याएँ,” प्रहरीसमक्ष विमलले दिएको वयान हो यो ।

“दाइ सोचेको व्यक्तिसँग त्यस्तो मायाप्रेम केही पनि थिएन । उसको मनमा के थियो, त्यो म के जानूँ,” वसन्तीको जवाफ छ । शिक्षण अस्पताल महाराजगन्जको वर्नवार्डको शैय्या नम्बर सैँतीसमा मृत्युसँग जुधिरहेकी वसन्तीको धेरै ठूलो माग छैन– “मेरो ज्यान दिने उद्देश्यले बाटो ढुकेर तेजाब र चक्कु हान्ने अपराधी आजीवन जेलमा जाकियोस् ।”

“त्यति पनि गर्न सक्दैन भने सरकारले अनुमति देओस्, अपराधीलाई म मेरै हालतको बनाउँछु !,” क्रुद्ध हुन्छिन् उनी । शरीर चक्कुले छेड्न र तेजाबले डढ्न कतै बाँकी छैन । तेजाबको जलनले विरूप बनेको छ अनुहार । तेजाबले जलाएका अनुहार त्यसमाथि चक्कुको लामो चोट, क्षीण बनिसकेको छ अनुहार ।तर, उनको आत्मविश्वास सगरलाई माथ गर्ने उँचो छ । नाडीको धड्कनमा जिजीविषाको धून बजेको छ ।

“आफूमाथि साङ्घातिक हमला हुँदा पनि मर्छुजस्तो लागेन । छिटो अस्पताल लगिदेउ भनेर गुहार मागिरहेँ । अब त ठाउँमा आइपुगेको छु, बाँच्छु,” उनको दर्बिलो आवाज सुनिन्छ । आफूमाथि ज्यान लिने नियतका साथ घटना घट्दा पनि पीडितलाई मर्का पर्नेगरी गरिएको टिप्पणी उनले पनि सुनेकी रहिछन् ।

तेजाब आक्रमणलाई जोडेर कतिपयले घटनालाई सामान्यीकरण गर्ने प्रयत्नसमेत गरे– “ए ! प्रेम–सम्बन्ध पो रहेछ ! प्रेम स्वीकार गरिन होला अनि तेजाब हान्यो ।” समाजका एकाध मानिसको तल्लो चेतले तेजाबले भन्दा ज्यादा पोलेको छ उनलाई । र त प्रश्न गर्छिन् उनी– “एसिड प्रेमीले हान्छ कि अपराधीले !”

“अपराधीलाई ‘प्रेमी’को जलप लगाइदिँदा समाजमा हिंसा झनै मौलाउँछ । दुस्कर्मतर्फ अग्रसर गराउँछ,” उनी तर्क गर्छिन् ।

तेजाबको जलन सहन नसक्दा लगातार आँखाबाट आँसु र पिप बगिरहेकै छ । गर्धनमा रोपिएको सुईले पनि पीडा दिएकै छ । तथापि आत्मबल जगाउँदै उनी भन्छिन्– “समाजमा केही विद्वान छन् । उनीहरू भन्छन् — महिलाहरू छोटाछोटा लुगा लगाएर हिँड्छन् र त घटना हुन्छ ! म सधैँ कुर्था —सुरुवाल र धोती–चोलो लगाएर हिँड्थे । घर सम्हालेको गृहिणी पनि । आफूभन्दा ठूल्ठूला छोराछोरी छन् । तर, मैमाथि जघन्य अपराध भयो । यसको कारण के हो ?”

धेरै पढेकी छैनन् उनले । ६ कक्षासम्म स्कुलको आँगन टेकिन् । तर उनी तर्क प्रवीण छन् । निकै उम्दा लाग्छन् । भन्छिन्, “ आमाकै गर्भमा सुरक्षित छैनन् छोरी । स्त्री–भ्र्रूण आएको थाहा पाउनासाथ गर्भ निमोठी हाल्छन् । बाहिर पनि महिलाको अवस्था त्यस्तै छ । यसरी एसिडको आगामा जल्नुपर्छ ।”

आँसुपच्छे भएकी उनी अझै रोकिइनन्– “श्रीमानको काखमा पनि म सुरक्षित भइनँ । एसिडको जलन खपेर छोरी–चेली कतिञ्जेल बाँच्ने ?” उनको कुरा सुनेर श्रीमान् पनि भावुक बने । शैय्याको बार समातेर बसेका उनी धेरैबेर बोलेनन् । आँसुमात्रै झारिरहे ।

आँसु पुछ्दै केहीबेर पछि बोले, “अपराधी सदाका लागि जेल चलान् होस् ।”

तर, वसन्तीको आवाज मत्थर भएन । उनी चर्कन थालिन्, “महिलाको सुन्दरता अभिशाप हो ? महिला भएर जन्मनु अपराध हो ? हैन भनेर ममाथि तेजाब किन खन्याइयो ?” तेजाबले अतिशय जलन हुँदा कहिलेकाहीँ सोच्छिन्– “महिलाको त रूपै शत्रु हुँदो रहेछ !”

वसन्ती यमनारायणकी पत्नीमात्र होइनन् ।वयोवृद्ध उमेरमा पाइला टेक्न लागेका आमाबाबुको संरक्षणको जिम्मा पनि उनैले लिएकी छिन् । तीन दिदीबहिनीलाई बाटो देखाउने वसन्ती हरबखत बहिनीद्वयलाई भन्छिन्, “आमाबाबुको भविष्य हामी नै हौँ । घरमा छोरा नभएको आभाष कहिल्यै नहोस् । उहाँहरूको आँखाले छोरा नभएको पीडा कहिल्यै पोख्न नपरोस् ।”

त्यसैले आफू अस्पतालको शैय्यामा जीवन–मरणको दोसाँधमा हुँदा पनि, ३५ प्रतिशत शरीर तेजाबले डढाउँदा पनि आत्मविश्वास डगमगाउन दिएकी छैनन् । यही दृढता उनको स्वच्छ हृदयको साक्षी बनेको छ । निष्कलङ्क छविको प्रतिविम्ब बनेको छ ।

राज्य–व्यवस्था र सरकारप्रति निकै आक्रामक देखिएकी उनले आक्रोश पोखिन्, “म त बाँचुला, राज्य यसैगरी निरीह बन्दै जाने हो भने एसिडको आगाले अरू थुप्रै छोरीचेलीको जीवन भस्म बनाउने छ । अतः अपराधीविरुद्ध राज्य कठोर निर्मम बनोस् ।”

० ० ०

झन्डै नौ हिउँदपरिवारसँग विमुख रहेरै बित्यो । यसपटकको दसैँ जहान–परिवारसँग मनाउने उनको ठूलो धोको थियो । दसैँ नआउँदै त्यो खुसीमा तेजाब प्रहार भइहाल्यो । त्योभन्दा ठूलो पीडा छ– दुई सन्तानको । तामाका मुनाजस्ता तिनले बाटो खोजीरहेका छन् । आफ्नो जिन्दगी होइन, उनीहरूको भविष्य जलेको प्रतीत भइरहेछ, वसन्तीलाई ।

वसन्तीको उपचारमा अहिलेसम्म झन्डै तीन लाख खर्च भइसकेको छ । ऋणधन गरेर अहिलेसम्मको खर्च जुगाड भयो । यसपछिको उपचार खर्चको बन्दोवस्त कसरी गर्ने ? सम्झँदै नौनाडी गलेका छन्, यमनारायणको । “उमेरमै रोगले च्यापिहाल्यो, घरकी प्राण श्रीमती अस्पतालको शैय्यामा छिन्, ती लालाबालाको पो विजोग हुने भो !,” कुराकानीको अन्तिममा सहयोगको याचना गर्छन् ।

स्केच: indialegallive.com