काठमाडौँ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको विहिबार बसेको बैठकले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनी उद्योगीले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँसम्म पर्ने भन्दै केही समय पहिला बताएका थिए। यही मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको हो। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको खुद्रा मुल्य अधिकतम ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो।
मन्त्रालयले ७० रुपैयाँ भन्दा महँगोमा चिनी बिक्री गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो। अाजकाे बैठकले चिनीको मूल्य बृद्धिको सन्दर्भमा थप छानविन गर्न समितिले उपसमिति गठन गरेको छ।
लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय छानविन उपसमिति गठन गरिएको हो। उपसमितिलाई समग्र बजारको अवस्था अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन समितिमा बुझाउन निर्देशन दिइएको छ ।










