काठमाडौं, असोज १८
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद क्षणिक भएकाले ढुक्क भएर बस्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सयुक्त राष्ट्रसंघको महासभाको बैठकमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसग कुरा गर्दै उहाले पार्टीमा कुनै समस्या नरहेको बताउनु भएको हो ।
उहाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दिएको भाषणलाई लक्षित गर्दै कहिलेकाही मान्छे भावनामा बगेर कविको जस्तो कविता भनेपनि सबै त्यसको पछि कुद्नुपर्ने आवश्यकता नरहेको बताउनु भयो । ‘कविको जस्तो कविता भनिहाल्यो भने त्यसैको पछि लाग्नुपर्ने भन्ने केही छैन् । त्यसैलाई ठुलो कुरा बनाउनुपर्ने पनि केही छैन ।’ उहाले अगाडी भन्नुभयो,‘सरकारको गति देख्नु भएको छ, कुन गति लिएको छ, यो सरकार पाँच वर्ष चल्छ, चुनाव गराउछ, यो भन्दा अलि बलियो भएर आउछ । ढुक्कु हुनुहोस् ।’ उहाले माधव नेपालसग आफ्नो २०२९ सालदेखी सम्बन्ध निरन्तर रहेको बताउदै भन्नुभयो,‘ उहासग मेरो २०२९ सालदेखीको सम्वन्ध हो, त्यो सम्बन्ध धनिष्ठ छ मित्रतापूर्ण छ त्यसमा तपाईहरु ढुक्क भए हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफुले ल्याएको बजेट कार्यन्वयनको जम्मा दुई महिनामात्र सकिएकाले विकास निर्माणले गति लिएको जस्तो नदेखिएको बताउनुभयो । ‘मानिसलाई कहिले काही विरोध गर्दा, गाली गर्दा मज्जा आउने हुन्छ अहिले त्यही भएको हो’, उहाको भनाई छ ।‘ अस्थायी कुराहरुको पछि लाग्नु राम्रो होइन्, विषयहिनता, मुद्धाहिनताको जस्तो कुरा देखिन्छ ।’ प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो,‘संघियता आएको छ, गणतन्त्र आएको छ । लोकतन्त्र आएको छ , मौलिक हक यति धेरै छन्, त्यसलाई कार्यन्वयन गर्न काननु आएका छन्, विकास निर्माण अगाडी बढेका छन् ।’










