काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुरै पाँच वर्ष चल्ने र अर्को चुनावपछि झनै बलियो सरकार बन्ने दावी गरेका छन् । बिहिवार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकारहरुलाई भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्ने कोसिस जारी राखेको, सरकारमा नियतमा कुनै खोट नभएकोले सरकारले काम गरेर हरेक कुराको जवाफ दिने बताए । प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गर्दै बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको टिप्पणी गरे । ‘विकास निर्माणका काम अगाडि बढेका छन् । अहिलेको बजेटले साउन र भदौमात्र काम गरेको छ । बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन, के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् र ?’ प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवद्र्धनमा फलदायी भएको बताए । प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा नेपालले लिएका दूरगामी योजनाहरूलाई विश्वसामु जानकारी गराएको समेत जानकारी गराए । एक सय २१ राष्ट्र सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको प्रतिक्रिया दिएका छन् । नेता नेपालसँग आफ्नो २९ सालदेखि घनिष्ठता रहेको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय शान्ति मिसनमा पाँचौं स्थानमा रहेको नेपालले अझै सशक्त भएर प्रस्तुत हुने विषयमा प्रतिबद्धता जनाइएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । लगानी र पर्यटनका माध्यमबाट नेपालको विकासमा जोड दिइएको छ मन्त्री ज्ञवलीको भनाई थियो । अमेरिकाको १३ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका ओलीले अमेरिका हुँदै कोस्टारिकाको पनि भ्रमण गरेका थिए । कोस्टारिकाको शान्ति विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई नेपालको शान्ति सुरक्षामा गरेको योगदानको कदर गर्दै विद्यावारिधिको उपाधी प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम, स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात्तमोहा सेना पदेई तेको हुन सेन लगायतका विभिन्न व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए ।