काठमाडौं- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै आज पनि माइतीघर मण्डलामा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

'निर्मलाका निम्ति न्याय' अभियानको आह्वानमा स्वस्तफूर्त विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन्। चिकित्सक डा गोविन्द केसी पनि आज निर्मलाको न्याय माग्दै माइतीघर पुगेका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतिर अघि बढेको छ। प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ शक्तिका कार्यकर्ता भने झन्डा र ब्यानरहित माइतीघरमा उपस्थित भएका छन्। न्यायको मागप्रति ऐक्यबद्धता जनाउन जोसुकै आउन सक्ने आयोजकले जानकारी दिएका छन्।

यसअघि पनि विभिन्न संघसंस्थाले बलात्कारी र हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र पन्त परिवारलाई न्याय दिन माग गर्दै दबाब दिँदै आएका छन्। घटनाको ७३ दिन भइसक्दा पनि प्रहरीले निर्मलाका अपराधी फेला पार्न नसक्दा चौतर्फी सरकारको आलोचना भइरहेको छ।