काठमाडौं, असोज २० । सधैंजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो ।

रौतहट–काठमाडौं सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली तथा छठका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले सांस्कृतिक रुपमा एकताबद्ध हुन सन्देश दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपाललाई महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, बंशीधर मिश्र लगायतले साथ दिए । नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्वीर लिनेको कमी थिएन ।

सोही मञ्चमा एकछिन अगाडि नेकपाका अध्यक्ष प्रचण्ड रहेका थिए तर उनी माधव कुमार नेपालको नृत्य हेर्न पाएनन् । प्रचण्ड आजै गोरखा जाने हतारोले गर्दा समारोहलाई सम्बोधन गरेर निस्कीए ।

अध्यक्ष प्रचण्डले निरङ्कुश शासन तथा सामन्तवादविरुद्ध चेतना फैलाउन र कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन रौतहटको भूमिको ठूलो योगदान रहेको स्मरण गरे ।

नेता नेपालले विगतदेखि नै त्यहाँका जनताले कम्युनिष्ट चिन्तनलाई संरक्षण गरेको बताउँदै विसं २०१५ को चुनावमा रौतहटले दुई स्थान प्राप्त गरेको स्मरण गरे । उनले पछिल्लो समयमा देशमा बढेको हत्या, हिंसा, बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई पहिचान गरी कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

महासचिव पौडेलले पार्टीभित्रको एकता प्रक्रियालाई चाँडो टुङ्गोमा पु¥याउन जनवर्गीय सङ्गठनबीच अन्तिम चरणको छलफल भइरहेको जानकारी गराए । -रासस