काठमाडौं– सरकारले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्नेगरी ७ सदस्यीय समिति गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने बताइएको छ।
यसैगरी, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ। गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरेको बैठकले संस्थानका महाप्रबन्धकलाई ३ दिने स्पष्टीकरण साेध्ने निर्णय समेत गरको छ।
यसैगरी, ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न विश्व बैंक समूहको ११ अर्ब ६३ करोड ऋण स्वीकृत समेत गरको छ भने सिन्धुली बर्दिबास सडकखण्डको मर्मत सम्भारका लागि जापान सरकारले प्रदान गर्ने १ अर्ब ४ करोड सहायता रकम समेत स्वीकृत गरेको छ।
नागरिक लगानी कोषका संचालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको छ।
सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। वृद्धि भएको तलब कात्तिक १ गतेबाट लागू हुनेछ। अब श्रमजीवी पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ।










