लक्ष्मी काफ्ले झापा |  शिवसताक्षी नगरपालिकाले अत्यधिक कर बढाएपछि कांग्रेसले आइतबार मेयरलगायत कार्यपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कांग्रेसले पहिलो पटक झण्डा लिएर आन्दोलन गर्दै नगरपालिका कार्यालयमा पुगेको होे । कांग्रेसका सयौँ कार्यकर्ता कर विरोधी नारा जुलुस गर्दै ज्ञापनपत्र लिएर नगरपालिका पुगेका थिए । नगरपालिकाले असुली गरेको कर वैज्ञानिक र व्यवहारिक नभएको कांग्रेसका शिवसताक्षी नगर सभापति पर्शुराम ढुंगानाले बताए । प्रतिपक्षीको धारणालाई गुमनाम राखेर लागु गरिएको कर सर्वसाधरणले बाध्य भएर तिर्दै आएको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ज्ञापनपत्र बुझाउनुअघि नगरपालिका परिसरमा आयोजित कोणसभामा काग्रेसका नेता चन्द्रमणि नेपाल, भक्तिप्रसाद सिटौला र शिवकुमार याङ्याले नेपालको संविधानले लोकतान्त्रिक संघीय प्रणालीसहितको संघीय, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको भए पनि शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधी ५ वर्षमा कसरी कमाउने भन्ने हिसाबबाट अघि वढेको आरोप लगाए । बहुमतको दम्भले नगरपालिका चलिरहेको बताएका उनीहरुले ५ वर्षमा नगरपालिका टाट पल्टिने दाबी गरे ।

ज्ञापनपत्रमा कांग्रेसले जनप्रतिनिधिलाई गम्भीर आरोप लगाएको छ । नगरपालिकाले थोपर्दै आएको दोहोरो कर अन्त्य गर्नुपर्ने, एकीकृत घर जग्गा सम्पत्ति करमा जथाभावी मूल्याङ्कन गरी खेतीयोग्य जमिन र बगरको समेत अत्याधिक करको पुनः मूल्याङ्कन गर्नुपर्ने, उपभोक्ता समितिहरु गठन गर्दा कार्यकर्ता भर्तिकेन्द्र बनाइएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

नगरपालिकाले गठन गर्ने विषयगत समितिमा प्रतिपक्ष नराखी एक्लौटी ढंगले समिति गठन गरेकोमा कांग्रेसले असहमति जनाएको छ । नगरका विकासे र चासोका योजनामा डिपिआरको नाममा भ्रष्टचार भएको आरोप ज्ञापनपत्रमा लगाइएको छ । नगरपालिकाले सवारीसाधन खरिद गर्दा अत्यावश्यक सवारी साधनहरु (दमकल, शववाहन, एम्बुलेन्स आदी) खरिद नगरी ठला र महँगा विलासीताका साधन खरिद गरेकोमा कांग्रेसले असहमति जनाएको छ ।

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार गर्नुगराउनु भनी सर्वोच्च अदालतले फैसला गरेपनि नगर प्रमुखले बोर्डको निर्णय भन्दै आफूखुशी निर्णय गरेका कतिपय निर्णयहरु खारेज गर्नुपर्ने कांग्रेसको माग छ । शिवसताक्षी नगरमा कर्मचारी नियुक्ति गर्दा पहिले कर्मचारी सेटिङमा नियुक्ति गर्ने र पछि प्रक्रिया पु¥याएजस्तो गरेर नगरबासीको आँखामा छारो हाल्ने काम गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

सबैभन्दा न्यून कर शिवसताक्षीमाः मेयर शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले भने नगरमा लागु गरिएको कर अव्यवहारिक नभएको बताएका छन् । जिल्लाका ८ नगरपालिकामध्ये शिवसताक्षी नगरमा कर न्यून रहेको उनले दाबी गरे ।

कर निर्धारण तथा परामर्श समितिले ल्याएको सुझाबलाई नगरपालिका बोर्डले स्वीकृत गरी नगरमा कर लागु भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई लगाइएको पारिश्रमिक, भ्रमण भत्ता, वैठक भत्ताको आरोप निराधार रहेको उनले दावि गरे । प्रमुख शेर्माले भने, ‘प्रदेश सरकारले निर्धारण गरे भन्दा एक रुपैयाँ फरक छैन ।’